चार अर्ब १७ करोड राजस्व सङ्कलन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चार अर्ब १७ करोड राजस्व सङ्कलन


११ श्रावण २०७९, बुधबार


बनियानी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७८/७९ मा चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले लक्ष्यको ९८ प्रतिशत अर्थात् रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए ।

आव २०७८/७९ मा कार्यालयले रु चार अर्ब २४ करोड ७४ लाख ६९ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो ।

कार्यालयअन्तर्गत इलाम र फिदिममा समेत करदाता सेवा कार्यालय सञ्चालन हुँदै आएको छ ।

भद्रपुर कार्यालयबाट रु तीन अर्ब सात करोड १६ लाख ३५ हजार, इलाम सेवा कार्यालयमार्फत रु ५६ करोड ८९ लाख ६८ हजार र फिदिम सेवा कार्यालयमार्फत रु ५२ करोड ८९ लाख ७० हजार गरी कूल रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन भएको हो ।

कार्यालयले आयकरबापत रु एक अर्ब ८७ करोड ३१ लख ५८ हजार, बहाल करबापत रु चार करोड २० लाख ४४ हजार, ब्याज करबापत रु ६ करोड ५८ लाख ८१ हजार, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब ७० करोड सात लाख १० हजार, अन्तःशुल्कबापत रु ४८ करोड ७८ लाख ८४ हजार र शिक्षा सेवा शुल्कबापत रु ९७ हजार राजस्व सङ्कलन गरेको छ ।

विभिन्न सात शीर्षकमा कर सङ्कलन गर्दै आएको कार्यालयले स्वास्थ्य सेवाबापत रु १० लाख ९० हजार ६९० राजस्व सङ्कलनको लक्ष्य पाए पनि कर सङ्कलन शून्य रहेको छ ।

अघिल्लो वर्ष कोरोना भाइरसको महामारीका कारण राजस्व असुलीमा कमी आए पनि यो वर्ष बढेको प्रमुख कर अधिकृत रिजालले बताए ।

‘सबै उपाय अपनाएर राजस्व असुलीलाई करिब शतप्रतिशतकै हाराहारीमा ल्याउने प्रयास गरेका छौँ’, उनले भने, ‘समग्रमा राजस्व असुली सन्तोषजनक नै छ ।’

करदाता सचेतना अभिवृद्धि गर्न सरोकारवालाहरुसँग अन्तरक्रिया र १२ वटा करदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको उनको भनाइ छ ।

ताप्लेजुङ, पाँचथर, इलाम जिल्ला र झापाको मेचीनगर नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र केचनाकवल गाउँपालिका कार्यालयको कार्यक्षेत्र रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस