गड्डाचौकी भन्सारमा लक्ष्यभन्दा ६ करोड कम राजस्व सङ्कलन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गड्डाचौकी भन्सारमा लक्ष्यभन्दा ६ करोड कम राजस्व सङ्कलन


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ। 

५२ करोड, ७७ लाख ६० हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४६ करोड, २२ लाख, ३८ हजार मात्र उठेको हो। यो रकम लक्ष्यभन्दा छ करोड ५५ लाख २२ हजार रुपैयाँ कम हो।

भन्सार कार्यालयले ३१ करोड ६४ लाख भन्सार शुल्क सङ्कलन गर्ने लक्ष्य राखे पनि २४ करोड ३३ लाख पाँच हजार मात्रै सङ्कलन गरेको छ। मूल्य अभिवृद्धि कर भने लक्ष्य भन्दा बढी सङ्कलन भएको छ। 

१६ करोड, ३३ लाख ५९ हजार मूल्य अभिवृद्धि कर  सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १८ करोड ६२ लाख ९६ हजार सङ्कलन भएको छ। 

मूल्य अभिवृद्धि करतर्फ दुई करोड २९लाख ३७ हजार बढी राजस्व सङ्कलन भएको हो। अन्तःशुल्कतर्फ लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ।

एक करोड २६ लाख ९९ हजार  अन्तःशुल्कबापत राजस्व सङ्कलन गर्ने लक्ष्य रहेपनि ९२ लाख ८५ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ। 

उत्पादित वस्तु तथा सेवा मार्फत एक करोड पाँच लाख १४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा २८ हजार मात्र सङ्कलन भएको छ। न्यून मात्रामा मात्रै सामान भारततर्फ निर्यात हुने भएकाले राजस्व थोरै मात्र सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले बताए। 

आव ०७७/७८ मा ३५ करोड ६७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ३७ करोड ३९ लाख मात्र उठेको थियो।

०७६/७७ मा ४८ करोड ६८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा २६ करोड २८ लाख राजस्व सङ्कलन भएको थियो। आव ०७५÷०७६ ४० करोड १२ लाख लक्ष्य राखिएकोमा ३६ करोड ६७ लाख राजस्व सङ्कलन भएको थियो।

कोरोना संक्रमणका कारण लगाइएको निषेधाज्ञाका कारण भारतबाट हुने आयात ठप्प हुँदा तीनै वर्षमा लक्ष्य भन्दा कम राजस्व सङ्कलन भएको बताइएको छ। कोरोनाका कारण राजस्व सङ्कलनमा कमी आएपछि त्यस पछिका वर्षमा लक्ष्य घटाइएको हो । 

भन्सार कार्यालय भएर जटिबुटी, हस्तकलाका वस्तु तथा सेवा निर्यात हुने गरेको छ।  दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, सामग्री, फलफूल, तरकारी, चिनी, खेलकुद-इलेक्ट्रोनिक-हार्डवेयर सामग्री भन्सार कार्यालय भएर भारतबाट आयात हुने गरेका छन्। 

भन्सार कार्यालयका प्रमुख विश्वकर्माले गत पुसदेखि राष्ट्र बैङ्कले विलासिताका वस्तु आयातमा कडाइ गर्दै एलसी पत्रमार्फत सामान आयात गर्ने प्रबन्ध गरेपछि राजस्व सङ्कलनमा कमी आएको बताए। 

भन्सार छली रोक्न सुरक्षा निकायसँग समन्वय गरेको उनले बताए। तर खुला सीमानाका कारण चोरी पैठारीको कार्य रोक्न भने कठिन रहेको उनको भनाइ छ।  

Tags :
प्रतिक्रिया दिनुहोस