एक वर्षमा विद्युत् प्राधिकरणका ग्राहक ५० हजारभन्दा बढी थपिए, नाफा कति ?  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एक वर्षमा विद्युत् प्राधिकरणका ग्राहक ५० हजारभन्दा बढी थपिए, नाफा कति ? 


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेश कार्यालयले आर्थिक वर्ष २०७८-०७९ मा १ अर्ब ४१ करोडभन्दा बढी नाफा भएको प्रारम्भिक अनुमान गरेको छ । 

प्राधिकरणले आफ्ना ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षमा मात्रै ५० हजारभन्दा बढी ग्राहक थपिएका छन् । अब प्रदेश १ मा विद्युत् उपभोग गर्ने ग्राहकको संख्या ९ लाख ७ हजार हाराहारी पुगेको छ ।

प्रदेश कार्यालयका प्रमुख राजन ढकालले दिएको जानकारी अनुसार प्रदेश १ मा चुहावटको दर पनि केही घटेको छ । अघिल्लो वर्ष १२ प्रतिशतले चुहावट हुँदा गत वर्षको चुहावट दर भने ११।७ प्रतिशतमा आइपुगेको छ ।

यस्तै प्राधिकरणले आर्थिक वर्ष २०७८-०७९ मा मात्रै समयमै महसुल नबुझाउने २८ हजार ५ सय ग्राहकको लाइन काटेको छ । जसमध्ये २५ हजार १ सय २२ जनाले पुनः लाइन जोड्दा ३९ करोड ८५ लाख महसुल सङ्कलन भएको ढकालले जानकारी दिए । सबैले लाइन जोड्दा भने ४३ करोड महसुल उठ्नुपर्ने थियो । यद्यपि ९२.८ प्रतिशत ग्राहकबाट महसुल उठ्नु राम्रो सङ्केत भएको ढकालले बताए ।

सबैभन्दा बढी लाइन काटिने जिल्लामा इलाम छ । इलामका ३ हजार ३ सय ८० जना ग्राहकको लाइन काटेको प्राधिकरणको रेकर्डमा छ । 

यसैबिच प्रदेश १ मा झापा, मोरङ र सुनसरीका २८ उद्योगले वार्षिक ३ करोडभन्दा बढी विद्युत् महसुल तिर्ने गरेका छन् । यी सबै उद्योगमा मात्रै २ अर्ब ५७ करोड ७१ लाख ८ हजार ४ सय २३ रुपैयाँको विद्युत् खपत हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस