सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै, के छ पूर्व तयारी ?  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै, के छ पूर्व तयारी ? 


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । कोरोना भाइरसको रोकथाममा नागरिकहरूबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । 

सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र सङ्क्रमित स्वयंले पनि चासो नदिँदा यो रोगको सङ्क्रमण दर बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । 

कैलालीको गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले नागरिकहरूले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा र सङ्क्रमित व्यक्तिबाट लापरबाही हुँदा पछिल्ला दिनमा सङ्क्रमण बढेको बताए । 

मास्क लगाएर सङ्क्रमण हुनबाट सुरक्षित हुन सकिने भए पनि अधिकांश नागरिकले मास्क र स्यानिटाइजरको प्रयोग गरेको देखिँदैन । सिमानाका हुँदै नेपाल भित्रिने कोरोना पोजेटिभ बिरामीलाई सिधै होम आइसोलेसनमा पठाउने गरिएको छ । 

धनगढीको कनरीमा विगतमा सञ्चालनमा आएको आइसोलेसन सेन्टर बन्द रहेको छ भने कोरोना रोकथामलाई लक्षित गरेर धनगढी-३ मा निर्माण पूरा भएको होल्डिङ सेन्टर पनि प्रयोगमा ल्याइएको छैन । नेपाली सेनामार्फत निर्माण भएको होल्डिङ सेन्टर पालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको जनाइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सरोकारवालासँग छलफल गरेर कोरोना भाइरसको रोकथामको पहल भइरहेको बताए । 

यस्तै सुदूरपश्चिम प्रदेशमा आज एकै दिन १९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन पद्धतिबाट ४१४ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । 

पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय बिरामी पनि बढेका छन् । आइतबारसम्म १३ जना सक्रिय बिरामी (एक्टिभ केस) रहेकामा आज एकै दिनमा यो सङ्ख्या बढेर २३ पुगेको छ । आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ५९ हजार ८१० सङ्क्रमित पुगेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस