प्रहरीले समितिलाई बुझायो सिसिटिभीको फरेन्सिक रिपोर्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरीले समितिलाई बुझायो सिसिटिभीको फरेन्सिक रिपोर्ट


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सिसिटिभी फुटेजको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ । प्रयोगशालाले आज (सोमबार) समितिलाई रिपोर्ट बुझाएको हो ।

स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट भोलि (मंगलबार) बिहान समितिको बैठकमा खोलिनेछ । समितिले अर्थ मन्त्रालयबाट सिसिटिभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो ।

बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । समितिका सदस्यबीच तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल हेर्ने/नहेर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।

समितिका एक सदस्य नेपाल प्रहरीको रिपोर्ट अनुसन्धानको झिनो आशाका रूपमा रहेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म कुनै प्रमाण फेला पारेका छैनौँ । झिनो आशा बाँकी छ । अब छानबिनलाई अगाडि बढाउने कि प्रतिवेदनलाई अन्तिम रूप दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’

सीमित व्यापारीलाई फाइदा पुग्ने गरी कर दर निर्धारण गरेको आरोप तत्कालीन अर्थमन्त्री जर्नादन शर्मामाथि लागेपछि प्रतिनिधिसभाले छानबिनका विशेष समिति गठन गरेको हो । असार २२ मा गठन भएको समितिले २८ गते काम सुरु गरेको थियो । समितिले १२ गतेभित्र छानबिन गरेर संसद्लाई प्रतिवेदन दिनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस