यूएनमा तोकिएको महिला शान्ति सैनिक संख्या  पुर्‍याउन नेपाललाई चुनौती « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यूएनमा तोकिएको महिला शान्ति सैनिक संख्या  पुर्‍याउन नेपाललाई चुनौती


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । संयुक्त राष्ट्रसंघले विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि महिला सैनिकहरूको संख्या र सहभागिता बढाउन आग्रह गरेपछि नेपाललाई समस्या परेको छ ।

सदस्य मुलुकहरूलाई सन् २०२८ सम्ममा मैदानमा सुरक्षामा खटिने महिला सैनिकमा १५ प्रतिशत र पर्यवेक्षक तथा अन्य कर्मचारीहरूमा २५ प्रतिशत महिलाको संख्या बढाउनका लागि आग्रह गरेको हो । राष्ट्रसंघले भनेअनुसार सैनिकमा महिला संख्या पुर्‍याउन नेपाली सेनालाई चुनौती भएको तथ्याङ्कले देखाएको छ ।

नेपाली सेनाको संख्या हाल करिब ९६ हजार छ । करिब ७ हजार महिला सैनिक छन् । सेनाका अनुसार गत असारसम्म नेपालबाट १ लाख ४० हजार २ सय २ जना नेपाली सैनिकहरूले विश्वका विभिन्न ४३ मिसनहरूमा शान्ति स्थापनाका लागि भाग लिएकोमा १ हजार ८ सय ३८ जना महिला सैनिक थिए, जुन १.३१ प्रतिशत हुन आउँछ ।

यस्तै, नेपाली सेनाले अहिले विश्वका विभिन्न ११ शान्ति स्थापनार्थ मिसनहरूमा आफ्नो ५ हजार ४ सय ६६ सैनिक खटाएको छ । जसमा २ सय ५० महिला सैनिक छन्, यो ४.५७ प्रतिशत हुन्छ । नेपालले अबको ६ वर्षमा धेरै संख्यामा महिला सैनिकहरूलाई शान्ति मिसनमा पठाउनुपर्ने हुन्छ । त्यसका लागि सेनाले अहिलेदेखि नै तयारी गर्नुपर्ने देखिन्छ । 

नेपालले ५ वर्षअघि नै वर्षको १० हजार शान्ति सैनिक पठाउने सम्बन्धमा राष्ट्रसंघलाई जानकारी दिइसकेको छ । २०२१ को डिसेम्बरसम्ममा शान्ति मिसनमा सेना पठाउने मुलुकहरूबाट ७.८ प्रतिशत महिलाले विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका छन् ।

सङ्घले भनेअनुसार शान्ति सैनिक बढी पठाउने मुलुकहरू बङ्गलादेश, इजिप्ट, इथियोपिया, घाना, रुवान्डा, सेनेगल, भारत, पाकिस्तान लगायत मुलुकहरूलाई पनि अप्ठ्यारो परेको छ । ‘यूएन पिस किपिङ’ ले सम्बन्धित मुलुकहरूले महिला सहभागितालाई लिएर खेलेको भूमिकामा प्रशंसा गर्दै थप महिला शान्ति सैनिकहरूलाई खटाउन र उनीहरूलाई अघि बढाउन अनुरोध गरेको छ । बङ्गलादेश, नेपाल, इजिप्ट, इथियोपिया, घाना, रूवान्डा र सेनेगललाई आफ्नो ट्वीटर ह्यान्डमा ट्याग गरेर उक्त विषयमा जोड दिन आग्रह गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस