एसपीपीबाट बाहिरिने विषयमा अमेरिकालाई तत्काल चिठ्ठी पठाउनू : अध्यक्ष नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसपीपीबाट बाहिरिने विषयमा अमेरिकालाई तत्काल चिठ्ठी पठाउनू : अध्यक्ष नेपाल


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने विषयमा अमेरिकालाई तत्काल चिठ्ठी पठाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् ।

पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको आज (आइतबार)को कार्यक्रममा अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले प्रधानमन्त्री देउवालाई तत्कालै पत्र लेख्न भनेको बताए ।

‘अस्ति प्रचण्ड जी र मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई तुरुन्तै चिठ्ठी पठाउन भनेका छौँ,’ नेपालले भने, ‘त्यसमा ढिलो हुने काम नहोस् भनेका छौँ । यो विषयमा जनताहरूबाट पनि आवाज उठ्नु पर्छ । जनता सजग हुनुपर्छ । राष्ट्रियताको रक्षा गर्ने जनताले हो ।’

गत असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरे पनि त्यस सम्बन्धी अमेरिकालाई औपचारिक रुपमा जानकारी गराएको छैन ।

एसपीपीमा नेपाल सहभागी हुन नहुने भन्दै संसद् र बाहिर पनि व्यापक विरोधपछि सरकारले यस्तो निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस