नागरिकता नपाएका नागरिकको समस्या समाधान भयो : प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नागरिकता नपाएका नागरिकको समस्या समाधान भयो : प्रचण्ड


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता नपाएका नागरिकको समस्या समाधान भएको बताएका छन् ।

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने व्यवस्थासहितको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको भोलिपल्ट मधेस प्रदेश पुगेका दाहालले उक्त अभिव्यक्ति दिएका हुन् ।

सर्लाहीको वाग्मती नगरपालिकामा शनिबार आयोजित कार्यक्रममा दाहालले नागरिकता समस्याको समाधान गर्ने यसअघिको आफ्नो प्रतिबद्धता पूरा भएको बताएका थिए । उनले भने, ‘तराई–मधेसको नागरिकता समस्या आउने सदनमा हरहालतमा समाधान गरिनेछ भनेको थिए । त्यसको समाधान, हिजोबाट नागरिकताको समस्या समाधान गर्ने निर्णय गर्‍यौँ ।’

नागरिकता विधेयक पारित गरेको जस लिँदै दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बलियो बनाउन आग्रह गरेका थिए । प्रचण्डले भने, ‘परिवर्तनका एजेन्डा स्थापित गर्ने पार्टीलाई बलियो बनाएरमात्रै जनताको समृद्धिको आकांक्षा पूरा हुनेछ । गणतन्त्र सम्भव छैन भनेर कराउने मान्छे चिन्नुभएको छ । संघीयताविरुद्ध प्रचार गर्ने मान्छे पनि चिन्नुभएकै छ । गत सालमा संविधान खारेज गरी संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने र प्रतिगमनतिर देशलाई लैजाने, मुस्लिम, दलित, आदिवासी, मधेसीले पाएको अधिकार खारेज गरियो त्यो आन्दोलन गरेर प्रतिगमन असफल पारियो ।’

अहिले पनि मुलुकमा संघीयता र गणतन्त्र असफल पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । उनले कसले त्यस्तो गरिरहेको हो भन्ने उल्लेख नगरे पनि त्यसलाई असफल बनाउन माओवादीले पार्टी संघर्ष गर्ने बताए ।

त्यस्तै, दाहालले मंसिर पहिलो साता प्रदेश र संघको निर्वाचन हुने बताएका छन् । त्यो निर्वाचनमा आफ्नो पार्टीलाई बलियो बनाउन आग्रह गर्दै दाहालले शिक्षा, स्वास्थ्य, रोजगारी तथा हक, अधिकार र पहिचानको सुनिश्चितता हुने बताए ।

दाहालले नेपालमा राजनीतिक स्थायित्वका निम्ति चीन र भारतबीच राम्रो सम्बन्ध बनाउनुपर्ने पनि बताए । ‘नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकीहरू चीन र भारतसँग सन्तुलित र राम्रो सम्बन्ध बनाउनुपर्छ । नेपालमा स्वाधिनता, राजनीतिक स्थिरता, विकास र समृद्धिको निम्ती हामीले सबैसँग हातेमालो गर्नुछ,’ उनले भने ।

हालैको भारत सम्बन्ध र चिनियाँ नेताहरूसँग काठमाडौंमा भएको भेटवार्ता उल्लेख गर्दै दाहालले दुवै मुलुकसँग राम्रो सम्बन्ध बनाइराखे विकास र स्थिरता हुने बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस