नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएरै छोड्छु : ओली  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएरै छोड्छु : ओली 


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गरेका छन् ।

शनिबार कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको बताए । 

उनले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरूले देखाएको बाटोबाट विचलित नहुने प्रण समेत गरेका छन् । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, सङ्गठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजाने बताए । 

अध्यक्ष ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाइँमा शहीद भएकाहरूलाई उचित सम्मान दिन नसकेको आरोप लगाए । उनले भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै उनले काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताए । 

अध्यक्ष ओलीले गिरिजाप्रसाद कोइराला कम्युनिस्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिस्ट कार्यकर्ताको रूपमा राजनीतिमा लागेको दाबी गरे । ४४ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले संस्थापक नेता श्रेष्ठको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पणसमेत गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस