गत एक वर्षमा जनावरको आक्रमणबाट २२ जनाको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

गत एक वर्षमा जनावरको आक्रमणबाट २२ जनाको मृत्यु


६ श्रावण २०७९, शुक्रबार


नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

सोही वर्ष जङ्गली जनावरको आक्रमणबाट २४ जना गम्भीर घाइते भएका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । त्यस्तै जनावरको आक्रमणबाट २९ जना सामान्य घाइते भएका उनले बताए ।

उनका अनुसार जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई निकुञ्जले प्रतिपरिवार १० लाखका दरले २२ जनाको परिवारलाई दुई करोड २० लाख राहत उपलब्ध गराएको छ ।

गम्भीर घाइतेको उपचारका लागि निकुञ्जले २९ लाख ११ हजार ७७३ तथा सामान्य घाइतेको उपचारका लागि पाँच लाख ३७ हजार ९५४ उपलब्ध गराएको सहायक सूचना अधिकारी तिवारीको भनाइ छ । गत आवमा निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएका, घाइते भएका तथा स्थानीयको अन्नबाली र पशुधनको क्षतिबापत निकुञ्जले तीन करोड चार लाख ७३ हजार ३८७ राहत उपलब्ध गराएको तिवारीले जानकारी दिए । निकुञ्जका पाँच वटै जिल्लामा गरेर जनावरको कारणबाट जम्मा ७२४ वटा घटना भएका र ती घटनामा तीन करोडभन्दा बढी राहत उपलब्ध गराइएको उनले बताए ।

‘जनावरको कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा हुने घटनाको क्षतिपूर्ति त हामी प्रदान गर्न सक्दैनौँ’, उनले भने, ‘यद्यपि पीडितको घाउमा मल्हम लगाउन भए पनि निकुञ्ज ऐनअनुसार केही राहतको व्यवस्था हुने गरेको छ ।’

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई प्रति व्यक्ति १० लाख तथा घाइतेको उपचार खर्च निकुञ्जले उपलब्ध गराउँदै आएको तिवारीले बताए । त्यस्तै, जङ्गली जनावरले नष्ट गरेको अन्नबाली तथा पशुधनको समेत निकुञ्जले मूल्याङ्कन गरेर राहत उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

गत वर्ष जङ्गली जनावरको आक्रमणबाट मध्यवर्ती क्षेत्रमा १४८ वटा पशुधनमा क्षति पुगेको भन्दै तिवारीले सो क्षतिबापत निकुञ्जले १७ लाख ८२ हजार राहत उपलब्ध गराएको बताए । त्यस्तै, गत वर्ष छ जनाको अन्न भण्डार गरेको स्थानमा जनावरले क्षति पुर्‍याएको थियो ।

घर गोठको क्षतिबापत एक लाख ४७ हजार ३०० तथा ४७६ जनाको अन्नबाली क्षतिबापत ३० लाख ३९ हजार ९०० क्षतिपूर्ति रकम निकुञ्जले उपलब्ध गराएको छ ।
निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लाको ९५२।६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै यस निकुञ्जको मध्यवर्ती क्षेत्र यी पाँच वटै जिल्लाको ७२९।३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस