पोखराका प्रमुख आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखराका प्रमुख आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा


६ श्रावण २०७९, शुक्रबार


कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन् ।

मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उनी देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिएको बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सात वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ ।

प्रमुख आचार्यलाई सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) (ग) बमोजिमको स्थानीय तहतर्फको विषयगत समितिको सदस्य पदमा मन्त्रीस्तरीय निर्णयबाट यही साउन १ गते सदस्य तोकिएको हो ।

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराका प्रमुख आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्त्व दिएको मानिएको छ ।

प्रमुख आचार्यले देशभरका स्थानीय तहमध्येबाट पोखरा महानगरको प्रमुखलाई नियुक्त गरिनुले पर्यटकीय सहर पोखरा र पोखरावासीको अपनत्व लिएको बताए ।

उनले पर्यटन मन्त्रालय र मन्त्रीप्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वाससमेत व्यक्त गरे ।

उनले भने, ‘हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौँ, सङ्घीय पर्यटनमन्त्रीज्यूले यसको प्रक्रिया अगाडि बढाएको र मन्त्रिपरिषदमा लैजाने पनि जानकारी दिइसक्नुभएको छ, मन्त्रालयको विषयगत समितिमा पनि देशभरका स्थानीय तहमध्येबाट पोखरालाई प्राथमिकता दिनुले यहाँको पर्यटकीय महत्त्व उहाँले पक्कै बुझ्नुभएको छ भन्ने लाग्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस