चित्रकार डा. भौकाजीको निधन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

चित्रकार डा. भौकाजीको निधन


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । चित्रकार डा. रामकुमार भौकाजीको आज ७२ वर्षका उमेरमा निधन भएको छ ।

प्रोस्टेटको अर्बुदरोगबाट आज बिहान आफ्नै निवास नयाँ बानेश्वरमा उनी दिवङ्गत भएको उनका भाइ साहित्यकार विमल भौकाजीले जानकारी दिए ।

रुसबाट चित्रकला विज्ञानमा विद्यावारिधि गरेका डा. भौकाजीका ‘जुद्धकला पाठशाला’, ‘स्रष्टा कुलमानसिंह भण्डारी’ र ‘नेपाली कलाकारका समस्या’ शीर्षक कृति (नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नाफाबाट प्रकाशित) तथा कला, संस्कृति र इतिहाससम्बन्धी थुप्रै लेख पत्रपत्रिकामा प्रकाशित छन् ।

विसं २०२९ फागुन २४–२५ मा गृह जिल्ला रामेछाप, साँघुटार बजारमा उनको पहिलो एकल चित्रकला प्रदर्शनी भएको थियो । ललितकला महाविद्यालयका पूर्वछात्र उनले ‘मेरो नेपाल’ शीर्षकमा विभिन्न ठाउँको दृश्यचित्र रचना गरी थुप्रै प्रदर्शनी पनि गरेका थिए ।

अविवाहित डा. भौकाजीले गोरखा भूकम्पपछि वसन्तपुर दरबार, सुन्दरीजल बन्दीगृह, टोखा चण्डेश्वरी, पशुपति विश्वरूप आदिका स्थलगत चित्र पनि तयार गरी प्रकाशनमा ल्याएका थिए ।

पशुपति आर्यघाटमा उनको आजै दाहसंस्कार गरिएको छ । उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाटमा नाफाका सदस्य सचिव विपीन घिमिरे, प्राज्ञ रामकृष्ण भण्डारी, पूर्व सांसद देवशङ्कर पौडेल, राजनीतिज्ञ लोककृष्ण भट्टराई, पूर्वप्राज्ञ नारदमणि हार्तम्छाली र रवीन कोइराला, सोफाज नेपालका महासचिव देवेन्द्र थुम्केलीलगायत शुभेच्छुकको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस