प्रचण्ड प्रधानमन्त्री बन्न देश/ विदेश दौडाहामा लागेको एमाले महासचिव शङ्कर पोखरेलको आरोप « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रचण्ड प्रधानमन्त्री बन्न देश/ विदेश दौडाहामा लागेको एमाले महासचिव शङ्कर पोखरेलको आरोप


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नका लागि देश विदेश दौडाहामा निस्केको आरोप लगाएका छन् ।

१२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो ।

काठमाडौँमा आज (बुधबार) आयोजित अनलाइन समाचारमाध्यामका सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले दाहालप्रति सङ्केत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक नभएको तर्कसमेत गरे ।

‘जति साना दलहरु मुलुकको राजनीतिमा हाबी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन । आज के देखिन्छ–तेस्रो चौथो पार्टी प्रधानमन्त्री खोज्न हिँडिराखेको, भौतारिराखेको सुन्दा नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र ?,’ महासचिव पोखरेलले भने, १२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामर्थ्य राख्दैन । प्रधानमन्त्री खोज्न देश विदेश दौडाहामा कुदेको छ । यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त ?’

महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाए ।

उनले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिरहेको भन्दै आपत्तिसमेत जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस