सांसद रावलले रुलिङको माग गरेपछि.. « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सांसद रावलले रुलिङको माग गरेपछि..


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे ।

प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपिपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गरे ।

मन्त्रिपरिषदले एसपिपीमा सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे ।

सभामुखको आसनमा रहेका सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आसन गर्न आग्रह गरे पनि सांसदले एसपिपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउनुपर्ने माग रोष्टममै उभिएर जारी राखे ।

बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए।

सो प्रस्तावमा धारणा राख्न रोष्टममा पुगेका सांसद रावलले एसपिपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गरेका हुन् । उनले सरकारलाई सहयोग गर्नका लागि नै यस्तो माग राखेको बताए ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै आसन ग्रहण गर्न आग्रह गरे ।

पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस