श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् ।

आर्थिक सङ्कटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि आज (बुधबार) संसद्‍मा मतदान भएको हो ।

विक्रमासिंघले आफ्नै दलका दलस अलापेरुमालाई पराजित गरेका हुन् ।

कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् । दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् ।

यसअघि तत्कालीन राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ ।

गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २२५ सांसद रहेको श्रीलङ्काली संसद्को ५० प्रतिशत अर्थात् ११३ सांसदको समर्थन आवश्यक हुन्छ ।

श्रीलङ्काली संसद्‍मा सत्तारुढ दल एसएलपीपी १०० सिटसहित सबैभन्दा ठूलो पार्टी हो । त्यस्तै प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी) का ५४ सांसद रहेका छन् ।

श्रीलङ्कामा विरोध प्रदर्शन बढ्दै गएपछि राजापाक्षले विक्रमासिंघेलाई प्रधानमन्त्री बनाएका थिए ।

प्रदर्शनकारीहरुले विक्रमासिंघेले पनि राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। यसअघि उनी ५ पटक श्रीलङ्काको प्रधानमन्त्री भएका थिए।

विदेशी मुद्रा सञ्चिति रित्तिँदा श्रीलङ्का स्वतन्त्र राष्ट्र भएयता (सन् १९४७) कै गम्भीर आर्थिक सङ्कटबाट जुझिरहेको छ । जसका कारण बजारमा अभाव र मूल्यवृद्धि अकासिएको छ ।

सर्वसाधारणको दैनिकी कष्टकर बनिरहेको छ । विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवासमेत प्रभावित छन् ।

मुलुकको यो अवस्था सिर्जना हुनुमा राष्ट्रपति राजपाक्ष र निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्ष जिम्मेवार रहेको भन्दै जनता गत अप्रिलदेखि सडकमा उत्रिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस