थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

थप ५ जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न सकिने


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ ।

आजदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतादाता फाराम भर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि काठमाडौँ, ललितपुर र भक्तपुरमा गत असार २९ गतेदेखि अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको छ । चितवन, कास्की, मोरङ, काभ्रे र झापाबाट पनि यो व्यवस्था मिलाइएपछि अनलाइनबाट मतदाता फारम भर्न मिल्ने जिल्लाहरूको संख्या आठ पुगेको छ ।

अनलाइन फारम भरिसकेपछि प्राप्त सङ्केत नम्बर, नागरिकता लगायतका परिचय पत्रसहित फोटो खिचाउन र औँठा छाप लगाउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरूले भने फेरि नाम लेखाउन नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएपछि सेवाग्राहीलाई लामो समयसम्म लाइनमा बस्नुपर्ने व्यवस्था नहुने निर्वाचन आयोगको विश्वास छ ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य गत असार १ गतेदेखि सुरु गरेको थियो । यो काम निर्वाचनको मिति घोषणा नहुन्जेलसम्म जारी रहन्छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा हुने सम्भावना छ ।

विभिन्न पेसा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रूपमा बसोबास गरेकाहरूले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । तर मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहीँबाटै गर्नुपर्ने छ ।

आफ्नो नाम, थर, लिङ्ग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटि भएको भए यही बेला त्यसलाई सच्याउन सकिने आयोगले जनाएको छ । साथै आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न पनि सकिने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस