सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)को बक्यौता रकम घटाएको छ ।

आज (मंगलबार) दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको छ ।

‘आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम ३१ अर्ब २० करोड थियो । १६ अर्ब ८० करोड बुझाएका छौँ,’ निगमका प्रवक्ता बिनितमणी उपाध्यायले भने, ‘अब भुक्तानी हुन बाँकी रकम १४ अर्ब ४० करोडमा झरेको छ ।’ निगमले सरकारसँगै ऋण लिएर आईओसीलाई बक्यौता बुझाएको हो । जसले गर्दा निगमको दायित्व घटेको नभई स्थानान्तरण मात्रै भएको हो ।

निगमका अनुसार दैनिक बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो । त्यस्तै सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय वाणिज्य बैङ्कको ३ अर्ब ऋण र ठुला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरिएको निगमले जनाएको छ ।

सरकारले ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको हो भने वाणिज्य बैङ्कले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा निगमलाई केही राहत मिले पनि पुरानो बक्यौताका कारण आर्थिक अवस्था सुधार हुन सकेको छैन ।

आईओसीले ४ दिनअघि मात्रै पठाएको मूल्यअनुसार प्रतिलिटर पेट्रोल १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । तर सरकारले कर समायोजन नगरिदिँदा सर्वसाधारणले घटेको मूल्यमा इन्धन पाउन सकेनन् ।

आईओसीबाट मूल्य घटेर आए पनि भुक्तानी गर्नुपर्ने रकम पूर्ण रुपमा चुक्ता नभएसम्म मूल्य यथावत राख्ने निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस