माओवादी र समाजवादीलाई एकतामा आउन भट्टराईको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी र समाजवादीलाई एकतामा आउन भट्टराईको आग्रह


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले काँग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् ।

आज (मंगलबार) अनेरास्ववियू केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन आग्रह गरेका हुन् ।

तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको भट्टराईको भनाइ छ ।

विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छोडिदिएर बिर्सिनुपर्ने उनको भनाइ छ । विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने उनले बताए ।

‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । योबिचको एक, डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रुपमा छोडिदिउँ । धेरै पछाडि नफर्किउँ कसले के गर्‍यो भन्ने कुरा । जब कसले के गर्‍यो भन्ने कुरामा हामी जान्छौँ हामी एक अर्कालाई चिथोछौँ र घाइते बनाउँछौँ । अगाडि कसरी जाने त्यो सोचौँ । त्यस कारण त्यो एउटा नर्क कुण्ड भनौँ काँग्रेससँगको गठजोड भनेको, त्यो नर्ककुण्डबाट फर्किनुपर्छ । त्यताबाट स्वर्ग गइँदैन, भट्टराईले भने ।

सचिव भट्टराईले देशमा राष्ट्रिय सामर्थ्य भएको शक्ति चाहिएको बताए । कम्युनिस्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामर्थ्य भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने उनले बताए । देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस