समयमै पाङ्ग्रा नफेर्दा निगमको दिल्ली उडान अनिश्चित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समयमै पाङ्ग्रा नफेर्दा निगमको दिल्ली उडान अनिश्चित


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । मुख्य ल्यान्डिङ गियरको पाङ्ग्रा समयमै नफेर्दा नेपाल वायुसेवा निगमको १:२५ बजे उड्नुपर्ने वाइडबडी विमानको दिल्लीको उडान अनिश्चित भएको छ ।

आज (मंगलबार) दिउँसो विमानस्थलमा रहेका एक यात्रुले २ सय ५० जना यात्रुलाई निगमले बोर्डिङ पास दिइसकेको तर जहाज पार्किङवेमा नदेखेको बताए ।

‘हामीले सोध्दा निगमका कर्मचारीले जहाज ह्याङ्गरमा रहेको बताए,’ दिल्ली जाँदै गरेका ती यात्रुले भने, ‘इन्जिनियरले पाङ्ग्रा फेरेपछि जहाज उड्ने भनिएको छ ।’

निगम प्रवक्ता अर्चना खड्काले आरए २१७ नम्बरको उक्त उडान रद्द नगरिएको र मंगलबार नै दिल्ली जाने बताइन । उक्त उडानमा दिल्लीबाट २ सय ६ जना यात्रु नेपाल आउँदै छन् ।

निगमलाई पाङ्ग्रा उपलब्ध गराउँदै आएको कोलोसस एयरले बेलैमा भुक्तानी नदिएकाले पाङ्ग्रा उपलब्ध नगराएको एक प्राविधिकले बताए ।

‘निगमले ६/७ महिनादेखि पाङ्ग्रा बिक्री गर्ने व्यापारीको भुक्तानी रोकेकाले टायर दिन ढिलाइ गरेको रहेछ,’ ती प्राविधिकले भने, ‘आजलाई हारगुहार गरेर एउटा पाङ्ग्रा मागेर साँझसम्म जहाज उडाउने छौँ ।’

काठमाडौँ र दिल्ली विमानस्थलमा यात्रु आइसकेकाले दुवै स्टेसनमा ड्युटीमा रहेका निगमका कर्मचारीलाई संशोधित समय तोक्न दबाब दिइरहेको एक अधिकारीले बताए । निगमसँग दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी गरी चार वटा विमान छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस