स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि सेवा प्रवाहमा समस्या  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि सेवा प्रवाहमा समस्या 


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । सरकारले कोरोनाको चौथो लहर सुरु भएको औपचारिक घोषणा नगरे पनि ओमिक्रोनको नयाँ सबभेरियन्ट बिए फाइभ पुष्टि भएको सुरुवाती चरणमै स्वास्थ्यकर्मीहरू नै धमाधम संक्रमित भएका छन् । 

काठमाडौँको वीरसहित चार अस्पताल र धुलिखेल अस्पतालमा मात्रै २२ स्वास्थ्यकर्मीमा संक्रमण भएको छ ।

वीरमा मात्रै १३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ६, सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, सिभिल अस्पताल र धुलिखेल अस्पतालमा एक-एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।

सेवामा खटिएका स्वास्थ्यकर्मी सुरुवाती अवस्थामै संक्रमित हुँदा अस्पतालको सेवा प्रवाहमा समस्या आउन सक्ने वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले बताए । 

सरुवारोग अस्पताल टेकुमा पनि स्वास्थ्यकर्मी संक्रमित हुँदा जनशक्ति कम भएर सेवा प्रवाहमा समस्या देखिन सक्ने सूचना अधिकारी नवराज गौतमले बताएका छन् । 

शिक्षण अस्पताल महाराजगन्जका डा.सन्तकुमार दासले भने विगतमा चरम सङ्कट पार गरेर आएका स्वास्थ्यकर्मी अहिले केहीमा संक्रमण पुष्टि हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । कोरोना बढेसँगै अन्य रोगका बिरामी अस्पताल आउन छाड्ने भएकाले पनि ठूला अस्पतालमा व्यवस्थापन केही सहज हुने उनको विश्लेषण छ । 

आठजनामा संक्रमण पुष्टि भएको १४ जेठदेखि कोरोनाको तेस्रो छाल अन्त्य भएको सरकारको निष्कर्ष थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने त्यसयता क्रमशः संक्रमण बढ्न थालेकोमा हालसम्म ६ स्वास्थ्यकर्मी मात्रै संक्रमित भएको दाबी गरेका छन् । विगतमा जस्तै केस बढे पनि कति पुग्छ प्रक्षेपण कार्य जारी रहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना सुरु भएयता हालसम्म प्रदेश १ मा एक हजार ६ सय पाँच, मधेसमा ६ सय सात, बागमतीमा ६ हजार नौ सय सय ७१, गण्डकीमा चार सय ९७, लुम्बिनीमा नौ सय १०, कर्णालीमा दुई सय ३२ र सुदूरपश्चिममा दुई सय ८३ गरी जम्मा ११ हजार एक सय ९६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यस्तै, प्रदेश १ मा पाँच, मधेसमा ११, बागमतीमा १४, गण्डकीमा एक, लुम्बिनीमा आठ, कर्णालीमा दुई र सुदूरपश्चिममा दुई गरी हालसम्म ४३ स्वास्थ्यकर्मीको कोरोनाबाट मृत्यु भएको छ ।

७४ दिन अर्थात् अढाई महिनापछि पहिलोपटक आइतबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस