नागढुङ्गामा सवारी साधन स्क्यानिङ मेसिन जडान गर्ने तयारी    « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागढुङ्गामा सवारी साधन स्क्यानिङ मेसिन जडान गर्ने तयारी   


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ ।

उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन् ।

उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ राख्न गृहकार्य सुरुआत गरेको छ । 

यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसँग संवाद गरिसकेको छ ।

नगरप्रमुख घनश्याम गिरीलेका अनुसार उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्ने छ ।  यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । मेसिनको करिब रु दुई करोड ५० लाख पर्ने जनाइएको छ ।

उनका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस