कोरोना नियन्त्रण गर्न सरकार सक्षम भएको स्वास्थ्यमन्त्रीको दाबी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना नियन्त्रण गर्न सरकार सक्षम भएको स्वास्थ्यमन्त्रीको दाबी


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड सङ्क्रमणमा केही वृद्धि भए पनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएका छन् ।

कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गइरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दाबी गरेका हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थानले आज (आइतबार) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरुलाई नजिकको स्वास्थ्य संस्थामा गई लगाउन पनि आग्रह गरे ।

त्यस अवसरमा मन्त्री खापुङले कोभिड महामारीको दरमा पछिल्लो समय केही वृद्धि भएको उल्लेख गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर त्यसको सङ्क्रमणबाट बच्न पनि सबैलाई आह्वान गरे ।

उनले भने, ‘म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्ड अपनाउनका लागि हार्दिक आह्वान गर्न चाहन्छु । अहिलेसम्म ११ हजार, ९५२ जना नेपालीहरुको कोरोनाका कारण मृत्युवरण गर्नु परेको छ । र, आगामी दिनमा कोरोना वृद्धि भए पनि हामी नियन्त्रण गर्न सफल हुनेछौँ । र, यसका कारण एक जना पनिको पनि ज्यान जान नपाओस् भन्ने कुरामा सरकार सजग छ ।’

मन्त्री खापुङले कोभिडका कारण एक जनाको पनि ज्यान जान नदिन सरकार सजग रहेको पटकपटक दोहोर्‍याए । सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९५३ जनाले ज्यान गुमाउनु परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस