कारागारमा कोरोना फैलिएपछि विराटनगर महानगरद्वारा सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कारागारमा कोरोना फैलिएपछि विराटनगर महानगरद्वारा सतर्कता अपनाउन आग्रह


१ श्रावण २०७९, आइतबार


विराटनगर । जिल्ला कारागार मोरङ भित्र कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

विराटनगर-८ मा रहेको मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।

कारागार भित्र रहेका अन्य कैदीबन्दीमा पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको कारागार स्रोतले बताएको छ ।

कारागार भित्र संक्रमण फैलिएको र बजारमा पनि संक्रमण देखिएका कारण महानगरपालिकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।

महानगरले अत्यावश्यक काम बाहेक घर बाहिर नजान पनि आग्रह गरेको छ ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ,‘महानगरपालिका क्षेत्र भित्र सङ्क्रमितको संख्या पुन बढ्दै गइरहेको तथ्यलाई मध्यनजर गर्दै जोखिम तथा गम्भीरताको न्यूनीकरणका लागि अत्यावश्यक नभई घर बाहिर नजान र अनावश्यक भिडभाड नगर्न, भौतिक दुरी कायम गरी माक्सको प्रयोगलाई निरन्तरता दिन साथै जनस्वास्थ्यका सबै मापदण्डहरु पुरा गर्न अनुरोध छ ।’
कारागारमा रहेका सङ्क्रमितलाई कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका लागि भर्ना गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

अस्पतालमा भर्ना गरिएका अधिकांश सङ्क्रमितमा अत्याधिक ज्वरोको समस्या छ । पछिल्लो समय ज्वरोको समस्या लिएर अस्पताल जाने बिरामीको संख्या पनि बढ्दो क्रममा रहेको चिकित्सकहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस