भारत लगेर सडक बालबालिकाको मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भारत लगेर सडक बालबालिकाको मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । सडक बालबालिकालाई विभिन्न प्रलोभन देखाइ भारतमा मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ परेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलको टोलीले शरीरमा दुई वटा मिर्गौलामध्ये एउटा बेच्दा केही नहुने र ५ लाखसम्म कमाइ हुने लोभ देखाएर बालबालिकालाई भारत लैजान ठिक्क पारेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार गत १५ गते धुपेन्द्र शाही, विजय कुँवर र विमलबहादुर शाहीलाई पक्राउ गरिएकोमा उनीहरूको बयानका आधारमा विधान, हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका र छोटे भन्ने आशिष तामाङलाई २८ गते नियन्त्रणमा लिइएको हो ।

उनीहरूले समूह- समूह बनाइ कसैले काठमाडौँको सडक पेटीमा बालबालिकासँग चिनजान गरी मिर्गौला बिक्रीका लागि विभिन्न लोभ देखाउने, कसैले मिर्गौला ग्रहणकर्ता खोज्ने र काठमाडौँका पोलिक्लिनिकमा मिर्गौला दाताले गर्नुपर्ने रगत जाँच गराई भारतको कोलकत्ता लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार विमल शाही र धनबहादुरले आफू भारत गएर मिर्गौला बिक्री गरेर आएको अनुसन्धानबाट खुलेको छ ।

‘आफूहरूले पनि मिर्गौला बेचेर पैसा कमाएको भन्दै त्यही खत देखाएर अरुलाई फकाउने गरेको पाइयो’, घटना विवरण सार्वजनिक गर्दै मल्लले भने, ‘भारतको कलकत्ता गई मिर्गौला बिक्री गर्दा ५ लाख रुपैयाँ कमाई हुन्छ । फर्किँदा ५० हजार पर्ने मोबाइल पनि दिने भनेर फकाउने गरेका रहेछन् ।’

केही बालबालिकालाई सहमत गराई होटलमा खाने बस्ने व्यवस्था मिलाएर राखेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । मिर्गौला बेच्न भारत लैजान ठिक्क पारिएका बालबालिकाको सूचनाका आधारमा प्रहरी उक्त गिरोहसम्म पुगेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको र पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही हुने ब्युरोले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस