पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने जसपाको निर्णय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने जसपाको निर्णय


३१ असार २०७९, शुक्रबार


काठमाडौँ  । विभाजित जनता समाजवादी पार्टीको संस्थापन पक्षले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी संघीय र प्रदेश चुनावसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए ।

विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन आफ्नो उद्देश्यमा सफल भएको उनको विश्लेषण थियो ।

स्थानीय चुनावमा केही तीता अनुभव भए पनि मुलुकका लागि गठबन्धन अझै आवश्यक रहेको यादवले बताए । ‘आगामी निर्वाचनमा तालमेल गरेरै जाने हाम्रो निष्कर्ष छ,’ उनले भने ।

यादवले पार्टीको हित विपरीत काम गरेकाले डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरिएको बताए । आफूहरुसँग पार्टीको दुई तिहाइ शक्ति रहेको उनको दाबी छ ।

यादवले भने, ‘हाम्रो बैठकमा दुई तिहाइ सदस्य सहभागी भएपछि पार्टी विभाजन गर्ने उहाँको सपना चकनाचुर भएको छ ।’

सम्बन्धित समाचार : बाबुरामको पार्टी फुटाउने सपना चक्नाचुर भयो : यादव

उनले आफूहरुले चाहेजस्तो नागरिकता विधेयक संसदबाट पारित हुन लागेको भन्दै खुसी व्यक्त गरेका थिए । यस विधेयकमा बाबुआमाले जुनसुकै नागरिकता पाएको भए पनि छोराछोरीले वंशजकै नागरिकता पाउने व्यवस्था गरिएको यादवको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस