भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रलाई अनुसन्धान र विकासको अङ्गका रूपमा विकास गर्नेछौँ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रलाई अनुसन्धान र विकासको अङ्गका रूपमा विकास गर्नेछौँ : मन्त्री श्रेष्ठ


३१ असार २०७९, शुक्रबार


बनेपा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमि व्यवस्थापन जस्तो बहुआयामिक र संवेदनशील विषय भएकाले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रलाई विकासका अन्य आयामसँग आबद्ध गर्न मन्त्रालयको अनुसन्धान र विकासको अङ्गका रूपमा विकास गर्ने गरी मन्त्रालयले सोच बनाएर अघि बढेको बताएकी छन् ।

काभ्रेपलान्चोकको धुलिखेलस्थित बखुण्डोलमा रहेको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको आज ५४औँ वार्षिकोत्सव कार्यक्रममा उनले विभागीय कार्यालयका रूपमा स्तरोन्नति भएको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले प्राप्त गरेको आइएसओ ९००१ः२०१५ प्रमाणीकरण भएकामा प्रशंसा गरिन् ।

बद्लिँदो समय र परिवेशअनुसार प्रदेश र स्थानीय सरकार एवं गैरसरकारी र निजी क्षेत्रलाई आवश्यक सहयोग गर्दै भूमि व्यवस्थापनका क्षेत्रमा असल अभ्यासलाई विस्तृतीकरण गर्दै विदेशीलाई समेत तालिम र अनुभव आदानप्रदान गर्न सक्ने र उनीहरुको तालिमको आकर्षक केन्द्र बन्न सक्ने अवस्थामा पुर्‍याउने मन्त्रालयको लक्ष्य रहेको र गर्न सक्ने उनले बताइन् ।

त्यसका लागि सोचलाई साँघुरा घेराबाट माथि उठेर केन्द्रलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्ने गरी लाग्न सबैलाई आग्रह गरिन् । सो क्रममा उनले वर्तमान देशको संरचनाअनुसार जग्गा प्रशासन तथा भूमि व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको अवस्थामा प्रशिक्षण केन्द्रले आगामी दिनमा स्थानीय तहको क्षमता विकासमा अझ व्यापकता दिन जरुरी रहेको बताइन् ।

‘नाप नक्सा र भूमि व्यवस्थापनका क्षेत्रमा एक मात्र प्रशिक्षण केन्द्रका रूपमा रहेका सन्दर्भमा केन्द्रका गतिविधिलाई प्रदेश स्तरबाट सञ्चालन गर्न सक्ने गरी व्यापकता दिनतर्फ सोच्नसमेत आवश्यक छ’, उनले भनिन्, ‘त्यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य र साझेदारी बढाउन सकेको अवस्थामा समय र पैसाको समेत बचत हुन गई स्थानीय र प्रदेश सरकारको क्षमता अभिवृद्धि भई भूमिसम्बन्धी सेवा प्रवाहको काम सरल, सहज, प्रभावकारी र जनमैत्री हुनसक्छ ।’

सो क्रममा विश्वविद्यालयसँगको सहकार्यलाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाउँदै लैजान आवश्यक रहेको उनको भनाइ छ । सो क्रममा उनले विश्वविद्यालयसँगको सहकार्यमा व्यापकता दिई प्रशिक्षण केन्द्रले नीतिगत विषयमा अनुसन्धान गरी मन्त्रालयलाई नीतिगत सुधारमा पृष्ठपोषण दिन सक्ने गरी सक्षम हुन जरुरी रहेको बताइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सङ्घीयतासँगै मन्त्रालयको बजेट पनि खस्केको बताउँदै प्रशिक्षण केन्द्रको उपाध्यक्ष बढेर जाने अवस्थामा केन्द्रका लागि पनि कम बजेट भएको अनुभूति भएको बताए ।

केन्द्रको हितधारक सबै पालिका भएकाले जनताको सेवा गर्ने कर्मचारीलाई मात्रै नभएर जनप्रतिनिधिलाई पनि कानुनमा भएको परिवर्तनका बारेमा जागरुक र सचेत गराउने काममा केन्द्रित हुन आवश्यक रहेको बताए ।

त्यस्तै काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रले तालिमलाई शैक्षिक कार्यक्रममार्फत परिवर्तन गरिसकेको र विश्वलाई देखाउन हुने खालको शैक्षिक प्रतिष्ठानका रूपमा उभ्याउन सफल भएको बताए ।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले देशमा सुशासन कायम गर्न जग्गा प्रशासनमा मात्रै अघि सुधार गर्न सक्यो भने राज्यले जनतालाई ५० प्रतिशत सुशासन दिन सकेको अनुभूति दिलाउन सकिने बताए ।

सो क्रममा मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र आइएसओ ९००१ः२०१५ प्रमाणित प्रमाणपत्रको अनावरण गर्नुका साथै सो केन्द्रमा रहेको प्रशिक्षार्थी र कर्मचारीबीचमा भएको विभिन्न खाले खेलकुद विधामा उत्कृष्ट हुने प्रशिक्षार्थी एवं कर्मचारीलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरे ।

सो क्रममा मन्त्री श्रेष्ठले केन्द्रबाट जुनियर नापी तालिममा सहभागी प्रशिक्षार्थी र नवप्रवेशी नापी अधिकृतलाई प्रमाणपत्र वितरण गर्नुका साथै केन्द्रबाट प्रकाशित जर्नल विमोचन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस