जग्गाधनीलाई जानकारी नै नदिई जग्गा बिक्री गर्ने कर्मचारीलाई छ वर्ष कैद « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जग्गाधनीलाई जानकारी नै नदिई जग्गा बिक्री गर्ने कर्मचारीलाई छ वर्ष कैद


३० असार २०७९, बिहिबार


सप्तरी । जग्गाधनीलाई जानकारी नै नदिई जग्गा बिक्री गर्ने कर्मचारीलाई कैद सजाय भएको छ । राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कट्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा संलग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज –५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिनारायण शर्मालाई बुधबार जनही छ वर्ष कैद सजाय भएको छ ।

कीर्ते गरेकामा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष तथा ठगी गरेकामा तीन वर्ष गरी छ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।

अर्का कर्मचारी सुनसरी दुहबी–४ का उद्धव खतिवडाको कारागारमै मृत्यु भएकाले उनको हकमा मुद्दा खारेज भएको छ । कीर्ते जालसाजी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ५८ वर्षीय नायबसुब्बा खतिवडाको २०७८ पुस २ गते मृत्यु भएको थियो । उनी २०७५ साउनदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा थुनिएका थिए ।

खतिवडासँगै थुनामा रहेका चौधरी र अर्का कर्मचारी हरिनारायण शर्माको कैद अवधि अझै दुई वर्ष बाँकी छ । फरार रहेका शर्मा अदालतमा हाजिर भएपछि २०७५ कात्तिक १३ गतेदेखि थुनामा छन् । करारका कर्मचारी शर्मा स्रेस्तामा कैफियत लेखी फोटो टाँसेर फाँटवालामा पेस गर्ने गर्दथे ।

यसैगरी जग्गा खरिद बिक्रीमा संलग्न राजविराज–७ गजेन्द्र चोककी देवरानीदेवी दास र डाक्नेश्वरी नगरपालिका–८ घर भई हाल राजविराज–७ मा घर बनाइ बसेकी घुरनीदेवी साहलाई चार वर्ष कैद सजाय भएको छ । दास र साहलाई कीर्ते गरेकामा एक वर्ष र ठगी गरेकामा तीन वर्ष गरी चार वर्ष कैद सजाय भएको अदालतले जनाएको छ ।

प्रहरीद्वारा २०७५ असार ३२ गते पक्राउ परेकी दास २०७५ साउन १७ गते रु १५ लाख पाँच हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् । घुरनीदेवी भने २०७५ पुस ३० गते रु साढे सात लाख धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् ।

यस्तै २०७५ असार १९ गते पक्राउ परी साउन १७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका राजविराज–११ का ७८ वर्षीय फुदन साहको कैद सजाय अवधि चार वर्ष पूरा भएको छ । कैद सजाय भुक्तान भएकाले उनी रिहा भएका छन् । उनका छोरा शङ्कर साह तेली र शर्माका नातेदार उपेन्द्र शर्मा फरार रहेका छन् ।

उनीहरूले राजविराज नगरपालिका–७ की ६९ वर्षीया उषा अर्यालको करोडौँ मूल्य पर्ने तीन कट्ठा नौ धुर जग्गा बिक्री गरेका थिए । अमेरिकामा रहेकी अर्याललाई थाहै नदिई एक महिनामा दुई पटक उनको जग्गा बिक्री भइसकेको थियो । उनले आफ्नो जग्गा खोजी गर्दा अर्कैको नाममा पुगिसकेको चाल पाएपछि न्यायका लागि प्रहरीसमक्ष पुगेकी थिइन् ।

कीर्ते गरी आफ्नो नाममा जग्गा ल्याई बिक्री गर्ने फुदन साह र खरिद गर्ने देवरानी दासलाई प्रहरीले पक्राउ गरेसँगै कर्मचारीसहितको संलग्नताको रहस्य खुलेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस