पार्टीमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था छैन: भुसाल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पार्टीमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था छैन: भुसाल


२९ असार २०७९, बुधबार


काठमाडौँ । एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले पार्टीको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नरहेको बताएका छन् ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेले उक्त विभागको सदस्य बनाएको भन्ने समाचार सार्वजनिक भएपछि भुसालले भनाइ आएको हो ।

गभर्नर अधिकारी आफैँले पनि कुनै पार्टी राजनीतिमा संलग्न नरहेको स्पष्ट पारेको पनि भुसालले बताएका छन् । भुसालले यसबारे सामाजिक सञ्जालमा लेखेका हुन् ।

भुसालको भनाइ जस्ताको तस्तै ‘म प्रमुख रहेको नेकपा एमाले, अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ । प्रथमतः, स्वयं गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ। दोस्रो, हाम्रा कमिटी र विभागहरूमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु ।’

यद्यपि भुसालले गभर्नर अधिकारी आफू सम्बद्ध कमिटीमा रहेको वा नरहेको भनी ठोस रूपमा केही उल्लेख गरेका छैनन् ।

गभर्नर अधिकारीलाई एम अधिकारी भनेर एमालेले अर्थ तथा योजना विभागको सदस्य बनाइएको भन्दै बुधबार संसद्मा समेत प्रश्न उठेको थियो । बुधबार संसद्मा माओवादी र काँग्रेस सांसदहरूले गभर्नर अधिकारीबारे प्रश्न उठाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस