नेपालका दलहरूले आफ्नो निर्णय आफैँ गरून् : चिनियाँ नेता लिउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालका दलहरूले आफ्नो निर्णय आफैँ गरून् : चिनियाँ नेता लिउ


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । दाहाललाई भेट्न चिनियाँ नेता लिउ सोमबार साँझ खुमलटार पुगेका थिए।

यस क्रममा नेता लिउले नेपाललाई प्रयोग गरी बाहिरबाट चिन विरोधी गतिविधि नहोस् भन्नेमा आफूहरूको चासो रहेको रहेको बताएका थिए ।

माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार नेता लिउसँगको भेटको क्रममा लिउले नेपालका दलहरू आफ्नो निर्णय आफैँ लिन सक्ने क्षमता विकास गरुन् भन्ने चाहना राखेको पनि बताएका थिए ।

‘नेपालका कुनै पनि दलहरूले आफ्नो बारेमा आफैँ फैसला गर्ने क्षमताको विकास गर्नुपर्छ भनेर उहाँले आफ्नो विचार व्यक्त गर्नुभयो । तर हामीलाई उहाँले यसो गर्नुपर्छ भनेर हस्तक्षेप नगर्ने चीनको नीति रहेको बताउनुभयो,’ भेटपछि चिनियाँ नेतालाई उद्धृत गर्दै माओवादी उपाध्यक्ष श्रेष्ठले बताए ।

माओवादी अध्यक्ष दाहालले भने नेपालमा चीन विरोधी कुनै पनि गतिविधि गर्न नदिने कुरामा आफ्नो पार्टी र सिङ्गो देश प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका थिए । साथै उनले आफ्नो पार्टी र सिङ्गो देश नै एक चिनु नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए ।

नेपाल एक असल छिमेकी देश भएको र नेपालले कुनै पनि देशसँग सम्बन्ध राख्ने कुरामा आफूहरूले सहयोग गर्ने लिउको भनाइ रहेको पनि नेता श्रेष्ठले जानकारी दिए । साथै चीनले अहिलेसम्म गरेको सहयोगमा नेता दाहालले धन्यवाद व्यक्त गरेको पनि नेता श्रेष्ठले जानकारी दिए ।

नेता लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासहितका उच्च अधिकारीहरूसँग भेट गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस