निजगढमै विमानस्थल बनाउन सकिन्छ : ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजगढमै विमानस्थल बनाउन सकिन्छ : ओली


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने बताएका छन् ।

उनले सोमबार सम्पादकहरूसँगको छलफलमा वनको क्षति नगरी हाल विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रको दक्षिणतर्फ टाँगिया बस्ती हटाएर दुई हजार मिटर क्षेत्रफलमा विमानस्थल बनाउन सकिने बताए ।

उनले भने, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, वनको क्षति नगरीकन नजिकको टाँगियावस्ती हटाउँदा र दक्षिण पट्टी बनाउँदाखेरि दुई हजार स्क्वायर मिटरमा बनाउँदा पुग्ने ठाउँमा ८ हजार मिटर लिनुपर्ने आवश्यकता पर्दैन ।’

विमानस्थल निर्माण गर्दा सरकारले अनावश्यक क्षेत्रफल लिनु, अनावश्यक ढङ्गले वन विनाश गर्नु र वातावरणमा जानीजानी दुष्प्रभाव पार्न नहुने भन्दै ओलीले अदालतले पनि विकास निर्माणमा हस्तक्षेप गर्न नहुने बताए । ‘विकास निर्माणमा अदालतले धेरै ठाउँमा अनावश्यक हस्तक्षेप गर्ने गरेको छ । त्यस्तो क्रियाकलाप पनि गर्नुहुँदैन’ ओलीले भने ।

अध्यक्ष ओलीले धेरै वातावरणीय क्षति नगरी चाहिए जति जमिन लिएर विमानस्थल निर्माण गर्न सकिने बताए । ‘चाहिए जति जमिन लिने, त्यसमा धेरै क्षति पनि हुँदैन, त्यसलाई निर्माण गर्न सकिन्छ’ उनले भने ।

निजगढ विमानस्थलका विषयमा सर्वोच्च अदालतले पर्याप्त अध्ययन नगरी फैसला गरेको ओलीले बताए ।

‘सम्मानित अदालतले पर्याप्त अध्ययन गरेर विशेषज्ञको अध्ययनको आधारमा फैसला गर्ने गर्नुपर्छ’ उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले पर्याप्त अध्ययनविना एउटा फैसला सुनाउने । सुनाएको फैसलाको पूर्ण पाठ चाहिँ जारी गर्न नसक्ने पूर्ण पाठ जारी गर्दा के हो के हो जस्तो जारी गर्ने, त्यस्तो खालको हुनुहुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस