बलात्कारको प्रयास गर्ने वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बलात्कारको प्रयास गर्ने वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी


२७ असार २०७९, सोमबार


जबर्जस्ती करणी

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिं घलानविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

राष्ट्रपति रनिङ शिल्ड खेल्न हेटौँडा आएका विद्यार्थीमाथि बलात्कारको प्रयास गरेको उजुरी परेपछि घलानविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए ।

गत असार १८–१९ गते हेटौंडाको हुप्रचौरमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड खेल्न आएकी कैलाश गाउँपालिका–९ नामटारस्थित कालिका माविकी विद्यार्थीमाथि वडाध्यक्ष घलानले बलात्कारको प्रयास गरेको भन्दै किटानी जाहेरी परेको थियो ।

१४ वर्षकी विद्यार्थीले मध्यरातमा वडाध्यक्ष आफूहरु सुतिरहेको कोठामा प्रवेश गरेर बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले घलानविरुद्ध उजुरी दर्ता गरेको हो । पीडित किशोरीले उजुरी दिएपछि नेपाली काँग्रेस कैलाश गाउँपालिकाले घटना नियोजित भएको भन्दै पक्राउ पुर्जी जारी नगर्न प्रहरीलाई दबाब दिएको जनाइएको थियो ।

तर, प्रहरीले आज घलानविरुद्ध पक्राउ पुर्जी जारी गरेको उनलाई गिरफ्तार गर्ने अभियान सुरु गरेको जनाएको छ । असार १९ गते राति १२ः३० बजेको समयमा वडाध्यक्षले आफूलाई बलात्कारको प्रयास गर्ने उद्देश्यले संवेदनशील अंगहरुमा सुम्सुम्याएको जाहेरीमा उल्लेख गरेकी थिइन् ।

घटना १९ गते रातिको भए पनि बालिकाले असार २२ गते आफ्नो आमालाई घटनाको बारेमा बताउँदै वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, प्रहरीले आइतबारमात्र घटना दर्ता गरेर आज पक्राउ पुर्जी जारी गरेको हो ।

राजनीति दलको दबाबले घटनालाई विद्यालय तहमै मिलाउने प्रयास गराएको भए पनि पीडित किशोरीले महिला अधिकारवादी संस्थाको सहयोगमा उजुरी दिएकी हुन् । पीडित किशोरी हाल माइती नेपालको संरक्षण छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस