काठमाडौँ । गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेड कार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनिन् ।
आफू अभिनीत इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उनले उक्त अवसर पाएकी थिइन् ।
कान्स रेड कार्पेटमा हिँडेकी सुरक्षा नेपाली मात्र होइन, विश्व मिडियामा चर्चाको विषय बनिन् । उनको यो चर्चालाई नेपालको लोक सेवा आयोगले पनि पछ्याएको छ ।
असार २३ गते भएको नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा यसबारे प्रश्न सोधिएको छ ।
प्रश्न नम्बर १९ मा आयोगले सोधेको छ, ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ? प्रश्नमा चार वटा विकल्प छन्– प्रियङ्का कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर ।’
लोक सेवाको प्रश्नपत्र फेसबुकमा सेयर गर्दै सुरक्षाले खुसी व्यक्त गरेकी छन् । ‘लोक सेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ उल्लेख गर्दै उनले हर्ष व्यक्त गरेकी छन् । लोक सेवाको प्रश्नलाई सरकारी अभिलेखको एउटा आधार पनि मानिने भएकाले सुरक्षा मात्र होइन, नेपाली फिल्म उद्योगकै लागि यो खुसीको कुरा हो ।
