अनावश्यक हतियार किन्न लागेको भन्दै संसदमा एमालेको विरोध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनावश्यक हतियार किन्न लागेको भन्दै संसदमा एमालेको विरोध


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै लागी नेपाल प्रहरीलाई आवश्यक नभएपनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले गठबन्धनका नेताहरूलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्यकोषको रकम रकमान्तर गरेको आरोप लगाए । 

‘नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन । प्रहरीका अधिकारीहरूलाई सोध्दा कसैलाई हतियार किन्ने जानकारी पनि छैन । नेपाल प्रहरीलाई अहिले व्यारेक र प्रविधि चाहिएको छ’, सिलवालको भनाइ छ ।  

उनले ११५० थान सटगन, एक हजार थान पेस्तोल र २५ हजार थान सेललगायतका हतियार खरिद गर्ने भन्ने बाहिर आइरहेको भन्दै यदि ती हतियारहरू खरिद गरिए राष्ट्रघात हुने बताए । 

उनले गठबन्धनलाई कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस बनाउन लागिएको बताए । उनले ती हतियारको मूल्य ८४ करोडको एक तिहाइ पनि नपर्ने तर मूल्य बढाएर कमिसनकै लागि हतियार किन्न लागिएको आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस