मन्त्री मेखलाल श्रेष्ठका बाबुआमाको नाममा सञ्चालित ट्रस्टलाई छुट्ट्याइएको बजेट फिर्ता हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री मेखलाल श्रेष्ठका बाबुआमाको नाममा सञ्चालित ट्रस्टलाई छुट्ट्याइएको बजेट फिर्ता हुने


२६ असार २०७९, आइतबार


पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बाबुआमाको नाममा सञ्चालित ट्रस्टलाई विनियोजित बजेट फिर्ता हुने भएको छ ।

मन्त्री श्रेष्ठले उक्त बजेट फिर्ता लिन र त्यसलाई असहाय, ज्येष्ठ नागरिक र महिलाको हकहितमा सदुपयोग गर्न अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका छन् ।

आउँदो आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्री श्रेष्ठका स्व. मातापिता पुननारायण धनकुमारी श्रेष्ठ ट्रस्टका नाममा ५०/५० लाख गरी एक करोड रुपैयाँ भिन्न दुई शीर्षकमा विनियोजन गरिएको थियो ।

वार्षिक कार्यक्रम पुस्तिकामा छुटेपछि ट्रस्टका नाममा भवन निर्माण र कार्यक्रम कार्यान्वयन गर्न भनेर छुटेका योजना समावेश गरिएको सेतो किताबमा उल्लेख गरिएको थियो ।

उक्त पुस्तकमा खर्च शीर्षक २६४१३ अन्तर्गत छुटेका कार्यक्रम भनेर एउटै शीर्षकमा ५०/५० लाख रुपैयाँ विनियोजन गरिएको छ । पुननारायण धनकुमारी श्रेष्ठ ट्रस्टको नाममा ५० लाख रुपैयाँ छुट्ट्याइएको छ ।

यस्तै, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयबाट कार्यान्वयन हुने गरी सोही ट्रस्टको भवन निर्माणका लागि भनेर समान ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ट्रस्टको भवन भीरकोट नगरपालिका–१ मा बन्ने उल्लेख छ ।

एउटै ट्रस्टलाई दुई शीर्षकमा करोड बजेट विनियोजन गरिएको समाचार सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । विरोधपछि मन्त्री श्रेष्ठले आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेख्दै उक्त बजेट फिर्ता गर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘मेरो राजनीति सधैँ जनताको सेवाको लागि, मेरो कर्म समाज विकासको लागि’, गल्ती भए माफ गर्नुहोला । कमी–कमजोरी भए सच्चिने मौका दिनुहोला । श्रद्धेय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा जय नेपाल । गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजनिक भए लगत्तै मेरोबारेमा विभिन्न भ्रम सिर्जना भएकोले, ट्रस्टको बजेटसँग जोडिएर आज सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आए । म त्यो विषयमा अत्यन्त गम्भीर छु । मेरो स्व। बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको ट्रस्टको उद्देश्य ज्येष्ठ नागरिक सम्मान र महिला सशक्तीकरण गर्दै असहायहरूको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असहाय र गरिब रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो । यो संस्था विगत १२ वर्षदेखि सञ्चालनमा छ । म गण्डकी प्रदेशको मन्त्रीको हैसियतले मेरो गृह जिल्लामा यो ट्रस्टलाई समाजमा रहेका त्यस्ता वर्गहरूको सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर बजेटको व्यवस्था गर्न अनुरोध गरेको हुँ । आज सामाजिक सञ्जालमा एकाएक आएका टिप्पणीले गम्भीर बनेको छु । यो शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्नु नपर्ने म अर्थमन्त्रीज्यूलाई अनुरोध गर्दछु । म सधैँ जनताको पक्षमा काम गर्ने नेपाली काँग्रेसको इमान्दार सिपाही हो । मेरो बुवाआमाको नाममा रहेको ट्रस्टको उद्देश्यअनुरूप सदैव कार्य गर्नेरगराउनेछु । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिबद्धता समेत गर्दछु । यो फिर्ता भएको बजेट असहाय ज्येष्ठ नागरिक र महिलाहरूको हकहितमा सदुपयोग होस् भन्ने चाहना गर्दछु । जय नेपाल ।’

Tags :
प्रतिक्रिया दिनुहोस