काठमाडौँ । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ।
बुधबार बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा संघीय र प्रदेश सभा सदस्य निर्वाचन गर्न प्रस्ताव गरेका हुन्।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मंसिर २ मा चुनाव गर्न आयोगले प्रस्ताव गरेको हो।
आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदास बैरागीसँग छलफल गरेका हुन्।
‘मंसिर २ मा चुनाव गर्न प्रस्ताव गरिएको छ। यसैको सेरोफेरोमा चुनाव गर्ने गरी सरकारले मिति घोषणा गर्छ,’ थपलियाले भने।
प्रधानमन्त्री देउवाले सरकारले छिट्टै निर्वाचनको मिति तय गर्ने बताएका थिए।

