बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा


२१ असार २०७९, मंगलबार


बैतडी । बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले मनसुनको प्रभाव बढ्दै गएका बेला विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडकहरू अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार सञ्चालन गर्नेको फोन नम्बरसहितको सूची जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा उपलब्ध गराउने निर्णय भएको छ ।

यस्तै गएको कात्तिकमा अविरल वर्षाका कारण बालीनालीमा क्षति बेहोरेका परिवारलाई कृषि ज्ञान केन्द्र र भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ । सिगास गाउँपालिकाले आफ्नो पालिका क्षेत्रमा विपद् जोखिमको सर्भे गरेको तथ्याङ्कलाई पुनः रुजु गरी असार २१ गतेभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ ।

यस्तै प्रत्येक महिना जिल्लाका स्थानीय तह समन्वय बैठक गर्ने निर्णयसमेत भएको जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले जनाएको छ । यसका साथै विपद्बाट घरवारविहीन हुनसक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहरुले आश्रयस्थलको व्यवस्थापन गर्ने र त्यसको विवरण जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई उपलब्ध गराउने निर्णय भएको छ ।

जिल्लामा हुनसक्ने सम्भावित विपद्बाट प्रभावित हुनसक्ने परिवार र घरधुरीलाई मध्यनजर गरेर आ–आफ्ना तहमा रहेका अस्थायी आश्रयस्थल पहिचान गरी जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा पठाउन भनिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सहज होस् भनेर यस्तो निर्णय गरिएको हो ।

स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने भएकाले त्यस्ता क्षेत्रको पहिचान गर्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस