बैङ्कहरूमा एक सातामै थपियो ३४ अर्ब निक्षेप « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बैङ्कहरूमा एक सातामै थपियो ३४ अर्ब निक्षेप


२१ असार २०७९, मंगलबार


काठमाडौँ । गत साता मात्रै वाणिज्य बैङ्कहरूमा ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्ला साताहरुको तुलनामा गत साता निक्षेप उच्च दरले बढेको हो ।

यद्यपि कर्जा भने गत साता दुई अर्बले मात्रै विस्तार भएको छ । आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी खर्च केही बढेको छ ।

सरकारी खर्च बढेपछि बैङ्क तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन बढेको हो । तर, आर्थिक वर्षको अन्त्यमा बैङ्कहरूले कर्जा असुलीमा ध्यान दिने भएकाले उक्त अवधिमा कर्जा विस्तार न्यून देखिएको बैंकरहरुले बताएका छन् ।

राष्ट्र बैङ्कका अनुसार असार १० मा ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैङ्कहरूको कुल निक्षेप १७ गतेसम्म आइपुग्दा बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै सो एक साताको अवधिमा कर्जा ४१ खर्ब ८२ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँ कायम भएको छ । यसले बैङ्कहरूलाई रकम व्यवस्थापनका लागि केही सहज भएको छ ।

गत चैतदेखि नै वाणिज्य बैङ्कहरूको कुल कर्जा प्रवाह घटेको छ । गत चैत मसान्तमा वाणिज्य बैङ्कहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रुपैयाँ थियो । त्यसपछिका हरेक साता जसो कुल कर्जा घटिरहेको छ । असार १७ गतेसम्म आउँदा पनि ४१ खर्ब ८४ अर्बमा सीमित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस