किसानको न्यूनतम विद्युत् महसुल महानगरले तिर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

किसानको न्यूनतम विद्युत् महसुल महानगरले तिर्ने


२१ असार २०७९, मंगलबार


वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिँचाइको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले बेहोर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम तथा बजेटमा मासिक रुपमा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्ताको महसुल पनि महानगरपालिकाले नै तिर्ने वार्षिक नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ । यसैगरी वीरगन्ज महानगरलाई शैक्षिक ‘हब’को रुपमा विकास गरिने पनि योजना अघि बढाइएको छ ।

छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउन महानगरका ग्रामीण वडामा कन्या विद्यालय र क्याम्पस स्थापनाको पहल अघि बढाइने नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए ।

महानगरका ३२ वटै वडालाई सडक सञ्जालमार्फत जोड्न चक्रपथको निर्माण गरिने कार्यक्रम पनि नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ ।

वीरगन्ज महानगरको एकीकृत सहरी विकास योजना बनाइ त्यही अनुसार सहरी विकास कार्यलाई अगाडि बढाइने योजनासमेत समावेश गरिएको छ ।

वडा नं ३० र ३१ मा रहेको गुठी संस्थानको ६५० बिघा जग्गा भाडामा लिएर पूर्वाधारसहितको औद्योगिक क्षेत्र स्थापना गर्न प्रक्रिया अघि बढाइने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस