छत्रदेव गाउँपालिका जसले सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यम सञ्चालन गर्छ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

छत्रदेव गाउँपालिका जसले सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यम सञ्चालन गर्छ


१९ असार २०७९, आइतबार


अर्घाखाँची । सामुदायिक विद्यालय २०७४ को स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकारको मातहत गएका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार्नेतर्फ कति स्थानीय तहको ध्यान गएको देखिन्छ भने कतिले ध्यान दिन सकेका छैनन् । शिक्षाको गुणस्तर सामुदायिक विद्यालयमा खस्किँदै गएको नतिजाले पनि देखिन्छ ।

स्थानीय सरकारले आफ्नै पाठ्यक्रम पनि निर्माण गरेर सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याएका छन् । पछिल्ला वर्षमा स्थानीय सरकारको मातहत गइसकेपछि सामुदायिक विद्यालयका भवन निर्माण लगायतका महत्त्वपूर्ण काम भएका छन् ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले पनि निकै उदाहरणीय काम गरेको छ । २०७४ मा स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आइसकेपछि सुरुवातको कामका रूपमा नै गाउँपालिका अन्तर्गत रहेका विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउने कामको थालनी गर्नु हो ।

गाउँपालिका सूचना अधिकारी बुद्धिराम न्यौपाने शिक्षा क्षेत्रमा गाउँपालिकाले अङ्ग्रेजी माध्यमबाट शिक्षा दिने निर्णय गरेर कार्यक्रम अघि बढाएको बताउँछन् ।

‘गाउँपालिका अन्तर्गत रहेका ३७ वटा सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा शिक्षा दिने हिसाबले काम भइरहेको छ,’उनले भने,‘उपलब्ध जनशक्तिलाई नै परिचालन गरेर काम भइरहेको छ। हामीले शिक्षकलाई तालिम दिएर उनीहरूलाई पनि दक्ष बनाएर यो काम गरेका हौँ ।’

पाठ्यपुस्तक उपलब्ध गराउने काम पनि गाउँपालिकाले गरिरहेको छ। गुणस्तर सुधारको कामलाई पनि गाउँपालिकाले ध्यान दिएको छ। ‘शिक्षक नयाँ ल्याउने कुरा भएन मौजुदा शिक्षककै माध्यमबाट हामीले गुणस्तर सुधारको पनि काम गरिरहेका छौँ,’उनी भन्छन्,‘कतिपय कुरामा सोचे अनुसारको नभएको हुन सक्छ तर सुधारको काम भइरहेको छ । त्यसको नतिजा पनि राम्रो नै आउँछ भन्ने छ।’

गाउँपालिकाबाट मानिसहरूले शिक्षाको सुविधा भएको ठाउँतर्फ बसाइ सर्न थालेपछि स्थानीयका बालबालिकालाई पढ्न सहज होस भनेर नै यो अभियानको सुरुवात गरिएको हो । यहाँका सामुदायिक विद्यालयका भवन पूर्वाधारका हिसाबले सबै उत्कृष्ट छन् । नयाँ भवन निर्माण बन्ने देखि जीर्ण भवनको पुनः निर्माणको काम पनि भइरहेको छ ।
यो पहिलो कार्यकालको अवधिमा गाउँपालिकालाई खरको छानामुक्त घोषणा गरिएको छ । त्यसै गरी गाउँपालिकामा भएका विद्युत्का काठका पोल हटाएर पक्की पोलहरू राखेर विद्युत् लाइन विस्तार भएको छ। सूचना अधिकारी न्यौपानेका अनुसार गाउँपालिकामा दलित घर उज्यालो कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।

‘गाउँपालिकाले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत १५ शय्याको अस्पताल निर्माणको काम पनि गरिरहेको छ,’उनले भने,‘वडा तहमा सबै स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थाका भवन बनेका छन्। त्यहाँबाट नै स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ ।’

गाउँपालिकामा सञ्चालन भएको अर्को महत्त्वपूर्ण गौरवको आयोजना अन्तर्गत छत्रदेव जनता आवास गौरवको योजना हो । प्रदेश समपूरक अनुदान कार्यक्रमबाट छत्रदेव जनता आवास कार्यक्रमका लागि एक करोड बजेट विनियोजन भएको छ। स्थानीय सरकारको ५० लाख र प्रदेश सरकारको ५० लाखबाट यो आवास कार्यक्रमको निर्माण कार्य भइरहेको छ। ‘सुकुम्वासीहरूका लागि आवासीय सुविधा उपलब्ध गराइन्छ । त्यो निर्माणकै क्रममा छ बहुउद्देश्यीय कार्यक्रम भएकाले । निर्माणको काम भइरहेको छ,’उनले भने,‘त्यहाँ सुकुम्वासी परिवार राख्नका लागि तयारी भइरहेको छ ।’

उनका अनुसार सुरुवातमा प्रत्येक वडाबाट एक सुकुम्वासी परिवार राख्ने गरी योजना बनाइएको छ। कुनै वडामा सुकुम्वासी भएन भने अर्को वडाको भए पनि राख्ने भन्ने हिसाबले काम भइरहेको छ ।

गाउँपालिकाले युवा लक्षित विभिन्न कार्यक्रम पनि सम्पन्न गरेको छ । युवा लक्षित कर्भडहल निर्माणको काम भएको छ । जिल्लामै उत्कृष्ट आयोजनाका रूपमा सुविधा सम्पन्न क्रिकेट रङ्गशाला निर्माण भएको छ । त्यो जिल्लामा नै उत्कृष्ट आयोजना हो । यसमा गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीबाट निर्माण भएको हो ।

सडक यातायात अन्तर्गत पनि बाटो ग्राभेल गर्नेदेखि नयाँ सडकको ट्याक खोल्ने लगायतका कामहरू पनि सम्पन्न भएका छन्। भने नाली काट्ने ग्राभेल गर्ने काम गरिएको छ । ‘सङ्घीय र प्रदेश स्तरीय योजना अन्तर्गत ठुला ठुला सडकको योजना बनिरहेका छन्। भित्री सडकको सन्दर्भमा गाउँपालिकाले काम गरिरहेको छ,’सूचना अधिकारी न्यौपानेले भने ।

८ वटा वडा रहेको गाउँपालिकाका ती वडाका आफ्नै सुविधा सम्पन्न वडा कार्यालयहरू निर्माण पछिल्लो कार्यकालमा सम्पन्न भएको छ। ‘वडा कार्यालयका सुविधा सम्पन्न भवनहरू बनिसकेको अवस्था छ । सुरुको चरणमा कतिपय वडा कच्ची र भाडामा थिए अहिले सबै बनेर कार्यालय सञ्चालन समेत भइसकेको अवस्था छ,’न्यौपानेले भने,‘२ नम्बर वडा कार्यालयको भवन उद्घाटन हुन बाँकी छ । निर्वाचन अघि नै उद्घाटन गर्ने भन्ने थियो। तर, त्यो बेला आचारसंहिताले मिलेन अब हुन्छ ।’

यस्तै गाउँपालिकाको बहुउद्देश्यीय सभा हल निर्माण भएर सञ्चालनमा आइसकेको छ भने प्रशासकीय भवन निर्माणको चरणमा नै रहेको छ। यो प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

जनशक्तिका हिसाबले दरबन्दी अनुसारको कर्मचारी नहुँदा भने गाउँपालिकाले कठिनाइ झेल्नु परेको छ। तर, त्यसका बाबजुद पनि गाउँपालिकाले उत्कृष्ट रूपमा आफ्नो काम गरिरहेको छ । ‘धेरै जसो कर्मचारी सबै स्थानीय नै छन् । हामी सबैले कार्यालयको समय मात्रै भनेर नभई गाउँपालिका बनाउने उद्देश्यले हामीले काम गरिरहेका छौँ,’सूचना अधिकारी न्यौपाने भन्छन्,‘अफिस नसोचेर घर जस्तो ठानेर धेरै जसो कर्मचारीहरूले काम गर्नुहुन्छ । गाउँपालिकाले यसमा लगानी कुनै गरेको छैन। तर, हामीले काम गरिरहेका छौँ ।’

कार्यालयमा अतिरिक्त समय दिएर भए पनि कर्मचारीबाट प्रभावकारी रूपमा काम भइरहेको छ ।
छत्रदेव गाउँपालिका विश्वमान चित्रमा २८.०० देखि २८.०१ डिग्री उत्तरी अक्षांश र ८३.१३ देखि ८३.८४ डिग्री पूर्वी देशान्तरमा नेपाल राज्यको अर्घाखाँची जिल्लामा अवस्थित पहाडी भू–भागमा रहेको छ। समुन्द्री सतह देखी करिब १२५० मिटर उचाइमा यो गाउँपालिकाको केन्द्र रहेको छ । यहाँको हावापानी समशीतोष्ण प्रकारको छ ।

८७.६२ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको यो गाउँपालिका साबिकका बल्कोट, केरुङ्गा,छत्रगञ्ज, ठूलापोखरा, भगवती गा.वि.स. को सबै भाग र चिदिका गा.वि.स.को १ नं. देखि ८ नं. वडा , अर्घातोष गा.वि.स. को २ नं. देखि ५ नं. वडा सम्म र मरेङ्ग गा.वि.स. को ७ नं. देखि ९ नं. वडा सम्मका गा.वि.स. भू–भागलाई मिलाई सिङ्गो छत्रदेव गाउँपालिका बन्नुका साथै साबिकको छत्रगञ्ज हाल छत्रदेव–५ यसको प्रशासनिक केन्द्र भएको छ ।

यस गाउँपालिकाको नामकरणसँग धार्मिक इतिहास मुखरित भएको पाइन्छ । करिब पाँच हजार वर्ष अगाडी कुरुक्षेत्रको महाभारत युद्धमा युद्ध अवलोकन गर्न आएका छत्र महाराजाको शिर भगवान् श्री कृष्णबाट क्षेदन भएपछि पहाडी खण्डको यस क्षेत्रमा आफू बस्ने चाहाना गरे बमोजिम भगवान् श्री कृष्णले उलूक छत्र महाराजको मन्दिर यहाँ स्थापना गरेको जनश्रुति रहँदै आएको छ । उक्त मन्दिरमा परम्परा देखि हालसम्म दसैँमा ठुलो मेला लाग्ने गरेको छ ।
छत्र महाराजको मन्दिर र छत्र महाराज बसेको स्थान भएकोले यसको नाम छत्रदेव गाउँपालिका राखिएको हो । धार्मिक क्षेत्र भएका कारणले यहाँको धार्मिक पर्यटन र धार्मिक क्षेत्रको संरक्षण र सम्बद्र्धनमा पनि गाउँपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तीनका लागि बजेट तथा कार्यक्रममा नै समावेश गरेर काम हुँदै आइरहेको गाउँपालिकाको प्रतिवेदनमा पनि उल्लेख गरिएको छ ।

खानेपानी र सिचाइको भने गाउँपालिकामा ठुलो समस्या रहेको छ। यो समस्या समाधानका लागि विभिन्न स्थानमा खानेपानीको आयोजना निर्माण लगायतका कामहरू पनि भइरहेको गाउँपालिकाले जनाएको छ । आर्थिक सम्मृद्दिको लागि खानेपानी र सिचाइको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न योजना सञ्चालन भइरहेका छन् । युवा उद्यमशीलता वृद्धि गर्ने पशु÷कृषिमा आकर्षण वृद्धि गर्ने लक्ष्यका साथ गाउँपालिका अगाडी बढ्दै छ । ८ वटै वडामा अवस्थित धार्मिक स्थल , सार्वजनिक विद्यालय, स्वास्थ्य संस्था, पूर्वाधार विकास,क्षमता अभिवृद्धि, जनस्तर बाटै अपनत्व युक्त कार्य योजना सहितको लक्ष्य सहित नीति, बजेट तथा कार्यक्रम लाई अगाडी बढाएको गाउँपालिकाले जनाएको छ ।

राष्ट्र निर्माणको मेरुदण्ड स्थानीय सरकार बन्न सक्नुपर्छ भन्ने मान्यता सहित दीर्घकालीन सोचका साथ दिगो विकासका योजना तर्जुमा गरी अगाडी बढ्ने बनाएर वर्षे नि गाउँपालिकाले काम गर्दै आएको जनाएको छ । यो गाउँपालिकाको पूर्वमा गुल्मी जिल्ला, पश्चिममा सन्धिखर्क नगरपालिका, उत्तरमा मालारानी गाउँपालिका र गुल्मी जिल्ला रहेको छ । भने दक्षिणमा पाणिनि गाउँपालिकाको सीमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस