प्रधानमन्त्री रोजगार कार्यक्रम : विपन्न र मजदुरी गरेर घर चलाउनेका लागि राहत « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रधानमन्त्री रोजगार कार्यक्रम : विपन्न र मजदुरी गरेर घर चलाउनेका लागि राहत


१९ असार २०७९, आइतबार


काठमाडौँ । कोरोना सङ्क्रमण बढ्दै गएपछि देशभर नै लकडाउन थियो । बजार व्यवसाय देखि सबै क्षेत्र बन्द हुँदा त्यसले समग्र देशको अर्थतन्त्रमा नै असर पुर्‍याएको थियो । धेरैका रोजगारी गुमे । दैनिक मजदुरी गरेर खाने परिवारको अवस्था झनै दयनीय बन्दै गएको थियो ।

कोरोनाको प्रभावले सल्यानको बागचौर नगरपालिका ६ की तिलसरा विकको परिवार पनि अछुतो रहन सकेन । गाउँघरमा घरका पुरुष मानिस दैनिक मजदुरीमा जाने र महिला चुलोचौकोमा सीमित हुने गर्छन् । कोरोनाले गर्दा काम गर्ने पुरुष पनि घरमै बस्न बाध्य भएपछि विकको परिवारलाई दैनिक खर्च जुटाउन धौ धौ परिरहेको थियो ।

त्यही बेला प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँमै काम गर्ने अवसर पाउँदा भने उनी निकै खुसी भइन् । ‘बन्दले काम गर्न जाने ठाउँ थिएन । घरमै बस्नु पर्दा समस्या थियो,’उनले भनिन्,‘सरकारले रोजगारी दिएपछि धेरै सजिलो भयो । त्यहीबाट आएको पैसाले घर खर्च चलाउन सजिलो भयो ।’

उनको अलिकति खेतबारी त छ तर, त्यसमा खासै उब्जनी हुँदैन । धान लगाउने ठाउँ नभएको हुँदा भएको बारीमा उनको परिवारले मकै लगाउने गर्छ । तर, त्यो मकैले ६ महिनालाई पनि खान पुग्दैन । ‘बारीमा अदुवा र मकै त लगाउँछाँै तर खासै उब्जनी हुँदैन । मकै लगाए पनि त्यसले ६ महिनालाई खान पुग्दैन । धान लाग्ने ठाउँ नै छैन,’उनले भनिन् ।

बागचौर ६ कै रेसम कामी पनि दैनिक मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका छन् । कोरोनाको समयमा खर्च जुटाउन उनको परिवारलाई पनि कठिन भएको थियो । तर, प्रधानमन्त्री रोजगार कार्यक्रमले भने केही राहत मिल्यो । काम गर्ने क्रममा उनको आँखामा चोट लागेर उपचार गर्नु परे पनि काम पाउँदा भने उनी दङ्ग छन् ।

‘त्यहाँबाट आएको पैसाले निकै सजिलो भयो । कसैले दाल चामल किनेर खाए त कसैले अरू खर्चको जोहो गरे,’उनले भने,‘मेरो त काम गर्दा चोट लागे पनि कार्यक्रम अन्तर्गत गरेको बिमाको रकमले उपचार गर्न केही सजिलो भयो ।’

बागचौर नगरपालिका ६ कै लीला बिक झनै कार्यक्रमबाट खुसी छिन् । ‘पुरुष जाने ठाउँमा जान पाएकोमा हामीलाई धेरै खुसी लागेको छ । पहिले पुरुषको पैसा मात्रै समात्थ्यौँ, अहिले आफै पैसा कमाएर ल्याएर पुरुषलाई देखाउने भएका छौँ,’उनले भनिन्,‘प्रधानमन्त्री रोजगार कार्यक्रममा मजदुरी गर्न जाँदा पुरुष र महिलालाई बराबर ज्याला दिन्छ । त्यसले झन् हामीलाई राम्रो भएको छ ।’

बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगी प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विपन्न वर्गलाई घर खर्च चलाउन सजिलो हुनुका साथै विकास निर्माणका काममा स्थानीयवासीले अपनत्व पनि लिएको बताउँछन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएको यस जिल्लामा मात्रै नभएर नेपालमै सबैभन्दा बढी कार्य प्रगतिका आधारमा अनुदान पाउने र आफ्नो बजेट समयमा खर्च गर्ने स्थानीय तहमा पर्छौ हामी,’उनले भने,‘त्यसो गर्दा बागचौर नगरपालिकाले पनि यो कार्यक्रमका लागि एकदमै महत्त्वपूर्ण सहकार्य र साझेदारी गरेका कारण हामीले अपेक्षित उपलब्धि हासिल गर्न सकेका छौँ ।’

बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम प्रधानमन्त्री रोजगार कार्यक्रमले स्थानीय स्तरमा निकै सहज भएको बताउँछन् । ‘यहाँका नागरिक छिमेकी राष्ट्र भारत गएर श्रम गर्नुपर्ने अवस्था कम त भएको छ । यसलाई अझै प्रभावकारी बनाउन सक्नुपर्छ,’उनले भने,‘एक सय दिनको समयलाई बढाउन सके त्यसले विकास निर्माणको काममा पनि सहज हुन्छ ।’

इलाम नगरपालिका ७ की अम्बिकादेवी भण्डारीलाई पनि आफ्नै गाउँघरमा काम गर्न पाउँदा निकै राहत मिलेको छ । ‘हामीलाई एकदमै सहज भएको छ । काम पाइँदैनथ्यो अहिले नियमित भइरहन्छ, समयमा पैसा पाउँछौँ । घर चलाउन एकदमै सजिलो छ,’उनले भनिन्,‘पहिला बाहिर काम गर्दा पुरुषहरूले ६ सय पाउँथे हामीले ४ सय मात्रै पाउँथ्यौँ यो कार्यक्रममा काम गर्दा बराबर ज्याला पाउँछौ । यसले हामीलाई राम्रो भएको छ ।’

इलाम ६ का जसबहादुर जोगीलाई पनि काम पाउँदा घर चलाउन सजिलो भएको छ । ‘धेरै सजिलो भयो नि । आफ्नो गाउँ पनि बन्यो । बिहान बेलुकीको छाक टार्न सकिएकोले घर चलाउन पनि सहज भयो,’उनले भने,‘त्यसबाट आएको पैसाले बालबच्चा पढाउन पनि सुविधा भयो । रोजगार नभएर त्यतिकै घरमा बसिरहेका बेला काम पाउँदा राम्रो भयो ।’

इलाम नगरपालिकाका रोजगार संयोजक डेकेन्द्र बोहरा कुनै आपत्कालीन विपद् अथवा कुनै पनि खाले तत्कालै गर्नुपर्ने कामहरू हुँदा खेरी प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई तुरुन्त खटाएर एकदम छिटो छरितो ढङ्गबाट काम गराउन पाउँदा यसले धेरै सहजता ल्याएको बताउँछन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्देशिका र कार्यविधि अनुसार मर्मत सम्भारसँग सम्बन्धित बाटो ढलान गर्ने, पर्यटकीय पदमार्ग निर्माण गर्ने काम गरेका छौँ। त्यस्तै जीर्ण हुँदै गएका कुलाहरूको मर्मत गरेर वर्ष भरी नै पानी सञ्चालन गर्दै सिँचाइको लागि सुविधा हुने खालका काम गरेका छौँ,’उनले भने,‘साझेदारीमा गरेको हुँदा त्यहाँका स्थानीयको दैनिक जीवनयापनमामा यसले प्रत्यक्ष सहयोग पुगेको छ ।’

नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले प्रधानमन्त्री रोजगार कार्यक्रम फाइदाजनक भएकोले नै इलाम नगरपालिकाको ११ औँ नगर सभाले यसलाई प्रभावकारी ढङ्गले सञ्चालन गरेर लैजाने भनेर पारित गरेको बताए ।

बाराको आदर्श कोतवाल गाउँपालिकाका शेख रसुललाई पनि कोरोनाको समयमा काम नपाएर निकै हैरानी खेप्नुपरेको थियो। काम नपाउँदा दैनिक खानलाउन पनि समस्या भइरहेको थियो। तर, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत काम गर्न पाएपछि भने उनलाई निकै सजिलो भयो । ‘यो कामले हामीलाई धेरै सजिलो भएको छ। कामकै लागि बाहिर जाँदा धेरै दुःख हुन्छ । यस्तो काम अझै भइदिए सजिलो हुन्थ्यो भनेर सोचिरहेका छौँ,’उनले भने ।

आदर्श कोतवाल गाउँपालिकाका रोजगार संयोजक पप्पु प्रसाद जैसवाल विपन्न समुदायका मानिसहरूका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले निकै फाइदा पुगेको बताउँछन् । आर्थिक रूपले सबैभन्दा विपन्न भएको समुदायलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम दिने गरिएको उनले बताए । ‘सबैभन्दा गरिब को छन् भन्ने कुरा हाम्रो सफ्टवेयरले माथि नै देखाउँछ। र, त्यसअनुसार हामी उनीहरूलाई सम्पर्क गर्छौ । त्यो व्यक्ति यहाँ छ कि छैन भनेर हामी बुझ्छौँ र फर्म भरेर इन्ट्रि गरिदिन्छौ,’उनले भने,‘कुन वडाबाट कति फारम आएका छन्, त्यसको आधारमा छनौट गरेर काममा खटाउँछौँ । उहाँहरूलाई बोलाएर उपभोक्ता समिति बनाउन लगाउँछौँ । र उनीहरूले गर्नुपर्ने काम भनेर दैनिक १० बजेदेखि ४ बजेसम्म काममा जान भन्छौँ ।’

प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साह प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि विशेष दक्षता नभएका र पढाई लेखाई नभएका मानिसहरू पनि आफ्नै गाउँघरमा बसेर काम गर्न पाएको बताउँछन् ।

स्थानीय निरुदेवी रामलाई रोजगार कार्यक्रममा काम गर्दा घरका अरूसँग पैसा माग्नु परेको छैन। ‘मैले आफै काम गरेर पैसा कमाउँदा घर खर्च र आफूलाई चाहिने पैसाको जोहो गर्न सजिलो भएको छ,’उनले भनिन्,‘यस्तो कार्यक्रम सधैँ निरन्तर भइदिए अझ हामी जस्तालाई राम्रो हुने थियो ।’

आदर्श कोतवाल गाउँपालिका ४ का अध्यक्ष शेख जवाहीर प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आफ्नो वडामा कुलो निर्माण र बाटो सरसफाइ लगायतका काम गर्न सहज भएको बताउँछन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाका शिव सुन्दर प्यासी पनि गाउँघरमै काम गर्न पाउँदा दङ्ग भएका छन्। ‘गाउँघरमा सबै जनाका लागि यो कार्यक्रम राम्रो छ । काम गरेर आएको पैसाले बिहे खर्च जुटाए, जग्गा किन्न सहज भयो, घर बनाउन सहयोग पुग्यो,’उनले भने,‘परिवारमा बिरामी हुँदा औषधी गर्न सजिलो भयो। छोरा बोर्डिङमा पढ्दै छ । यो कार्यक्रम एकदमै राम्रो लाग्यो। मलाई यो एक खालको जागिर जस्तै लाग्यो ।’

यशोधरा गाउँपालिकाकै सुशीला चमारलाई पनि आफ्नै गाउँघरमा काम गर्न पाउँदा घर खर्च जुटाउन सजिलो भएको छ । ‘नुन तेल देखि चामल दालसमेत किन्न यो पैसाले सजिलो हुन्छ,’उनले भनिन्,‘आफैले काम गरेर पैसा पाउँदा अरूसँग चाहिएको बेला पैसा माग्नु पर्दैन ।’

यशोधरा गाउँपालिकाका रोजगार संयोजक रमेश प्रसाद वेलवासे समुदायका अति विपन्न गरिब मानिसहरू जो कमाउन बाहिर जान सक्दैनथे त्यस्ता बेरोजगार मानिसहरूका लागि कार्यक्रम प्रभावकारी भएको बताउँछन् । ‘यसले उहाँहरू आफ्नो गाउँ ठाउँको विकास निर्माणको काममा पनि सहभागी हुनुभएको छ र सँगसँगै आयआर्जन गर्दै आफ्नो दैनिक घर खर्च चलाइरहनु भएको छ,’उनले भने ।

यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले कार्यक्रम प्रभावकारी भएको भन्दै यसको समय बढाउन सके अझै सजिलो हुने बताउँछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक वर्षमा एक सय दिनका लागि काम गराइन्छ । उनीहरूले दैनिक ८ घण्टा काम गरेको हिसाबमा एक दिनको ५७७ रुपैयाँ ज्याला पाउने गर्दछन् । ज्याला रकम अहिलेको महँगीमा केही कम भएको यसमा काम गर्न लाभग्राहीहरूको गुनासो रहेको छ ।

‘काम नपाउँदा गाउँ घरमै यो कार्यक्रमले धेरै सजिलो बनाएको छ । तर, यसको ज्याला अन्य काम भन्दा निकै कम भयो । ज्याला बढाउन सके अझै राम्रो हुने थियो,’इलाम नगरपालिका ८ का कमल राई भन्छन्,‘वर्ष भरी निरन्तर काम गर्न पाए त त्यही ज्यालाले पनि सजिलो त हुन्थ्यो होला तर सयदिन मात्रै काम र ज्याला अलि कम भयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस