१५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, काठमाडौँ नआउनुस् : राहदानी विभाग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, काठमाडौँ नआउनुस् : राहदानी विभाग


१९ असार २०७९, आइतबार


काठमाडौँ। राहदानी विभागले अत्यावश्यक बाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौँ नआउन अनुरोध गरेको छ ।

विभागले आज (आइतबार) एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ ।

‘काठमाडौँ उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागले सूचनामा भनेको छ, ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ ।’

विभाग राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको छ । धेरै सेवाग्राहीलाई सेवा दिन क्षमता बढाउने, सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरुबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको विभागले जानकारी दिएको छ ।

‘विभागले विद्युतीय राहदानी प्रणालीमा समयसापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरिरहेको छ । साथै, विभागले सार्वजनिक बिदाको दिनमा समेत सेवाग्राहीहरुलाई सेवा दिएको छ,’ सूचनामा भनिएको छ । राहदानी विभागले प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेको बताएको छ ।

राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य इमर्जेन्सी कार्यको लागि गरी दैनिक ५ हजार भन्दा बढी सेवाग्राहीहरुलाई सेवा दिइरहेको विभागको दाबी छ । विभागले हाल दैनिकरुपमा ६ हजार ५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको जानकारी पनि दिएको छ ।

सुरुमा २–३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल १ हप्ताभित्रै सेवा प्राप्त गर्न सक्ने प्रबन्ध मिलाइ सकिएको विभागले जनाएको छ । विभागले प्रत्येक दिन २ हजार ४०० जनाले अनलाइनबाट फाराम भर्न सक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि २ कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाएको सूचनामा उल्लेख छ ।

‘सबै सेवाग्राहीहरु बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनुहुन पनि हार्दिक अनुरोध छ’ सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस