१३ नेपाली कामदार कोरियामा पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

१३ नेपाली कामदार कोरियामा पक्राउ


१९ असार २०७९, आइतबार


काठमाडौँ । नेपालबाट मौसमी कामदारका रूपमा कोरिया पुगेका नेपालीहरू गैरकानुनी रूपमा लुक्न थालेको पाइएको छ । अधिकतम ६ महिनाको भिसामा गएका नेपाली कामदारहरू अवधि सकिएपछि पनि लुकेर काम गर्न थालेको पाइएको हो ।

कुनै मौसमलाई मात्रै लक्षित गरी कोरिया जाने कामदारलाई अधिकतम ६ महिनाको भिसा दिइएको हुन्छ । यस्ता कामदार तोकिएको मौसम सकिएपछि नेपाल फर्कनुपर्ने हुन्छ । नेपालको स्थानीय सरकार र कोरियाको स्थानीय सरकारबीच भगिनी सम्बन्ध स्थापित गरी नेपाली कामदार कोरिया पठाइने गरिएको छ ।

यस्ता कामदार अवैधानिक रूपमा कोरियामा लुक्न थालेको गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष यज्ञराज सुवेदीले बताए । कोभिडको समयमा धेरै नेपाली कामदार भिसा अवधि सकिएपछि पनि नेपाल नफर्की कोरियामा लुकेर बस्न थालेका हुन् ।

शुक्रबार एउटै कम्पनीबाट कोरिया प्रहरीले १३ जना यस्ता नेपाली कामदारलाई पक्राउ गरेको सूचना पाएको नेपाली संघका केन्द्रीय सहकोषाध्यक्ष सुवेदीले जानकारी दिए । कोरियामा यस्ता नेपाली कामदार ठूलो संख्यामा लुकेको हुन सक्ने उनको अनुमान छ । उनका अनुसार पक्राउ गरिएका कामदार कोरियाली प्रहरीले आफ्नै नियन्त्रणमा राख्छ र नेपाल फर्काइदिन्छ । तर, यसका लागि कामदार आफैँले टिकट खर्च व्यहोर्नुपर्ने हुन्छ । टिकट व्यवस्था नगरेसम्म कामदार प्रहरीकै नियन्त्रणमा हुने उनले बताए ।

नेपाली कामदार पक्राउ परेको विषयमा कोरियाली सरकारले नेपाली दूतावासलाई औपचारिक जानकारी नदिएको कोरियास्थित नेपाली दूतावासले जनाएको छ । स्थानीय मिडियामार्फत जानकारी पाएको बताउँदै दूतावासका अधिकारीहरूले त्यस विषयमा खोजी गरिरहेको बताएका छन् ।

वैदेशिक रोजगार विभाग पनि यस विषयमा अनभिज्ञ रहेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । कोरियाले नेपालबाहेक भारत, श्रीलंका, बङ्गलादेश, फिलिपिन्सलगायतका मुलुकबाट पनि मौसमी कामदार लैजाने गरेको छ । यस्ता कामदारको पारिश्रमिक करिब दुई लाख रुपैयाँसम्म हुने उनले जानकारी दिए ।

मौसमी कामदारका रूपमा कोरिया जाने नेपाली कामदारबाट नेपाली दलालले १२ लाख रुपैयाँसम्म असुलेको गैरआवासीय नेपाली संघ कोरियाको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस