राज्यमन्त्री वलीको राजीनामा स्वीकृत, वली भन्छिन्-मैले राजीनामा दिएकी छैन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राज्यमन्त्री वलीको राजीनामा स्वीकृत, वली भन्छिन्-मैले राजीनामा दिएकी छैन


१६ असार २०७९, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या, परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीको राजीनामा स्वीकृत भएको बताएका छन् ।

प्रदेश सभाको बुधबारको बैठकमा एमालेले राज्यमन्त्री वलीको बारेमा प्रश्न उठाउँदै सरकारको जवाफ माग गरेपछि केसीले वलीले १२ असारमा दिएको राजीनामा स्वीकृत भएको सदनलाई जानकारी गराए ।

बुधबारको बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीका सन्दर्भमा भएका घटनाबारे सरकारको धारणा माग गरेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले त्यसबारे जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका थिए ।

मुख्यमन्त्री केसीले छानबिन सहज होस् भनेर राज्यमन्त्रीको राजीनामा आएको र धन्यवादसहित राजीनामा स्वीकृत गरेको बताए । उनले लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने चरणमा पुर्‍याएको बताए ।

प्रदेश सरकार मन्त्रिपरिषद्ले बनाएको जाँचबुझ कार्यदलकोे सदस्यमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको थियो ।

यता राज्यमन्त्री वलीले आफूलाई राजीनामा दिन दबाब आएको बताएकी छन् । पार्टीभित्रबाट पटक-पटक राजीनामा दिन दबाब आए पनि अहिलेसम्म आफूले पदबाट राजीनामा नदिएको बताइन् ।

आफूले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै नभई पार्टी र सांसद पदबाट समेत दिने उनले बताइन् ।

राज्यमन्त्री वली केही दिनअघि वाइसिएल नेता एकराज बस्नेतको घरमा गएपछि विवादित बनेकी थिइन् । एकराजको घरपरिवारसँग हात हालाहालको अवस्था सिर्जना भएपछि वली आलोचित बनेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस