मलबिनै धान रोपाइँ गरिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मलबिनै धान रोपाइँ गरिँदै


१५ असार २०७९, बुधबार


महोत्तरी । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा व्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् ।

एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ । ‘बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो’, भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भने । जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् । असार मसान्तमै धानको शाहीरोप (पहिलो बीउरोप) सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउँछन् ।

‘मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ’, उनले भने । मल नपाएकामा भने उनको दुखेसो छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन (पहिले रोपिएको बीउको रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपाइँ सक्ने उपयुक्त समय हो ।

यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । उनीहरुले सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन् । ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो ।

लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ । किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने (बीउ उखेल्ने) र रोप्ने काममा व्यस्त छन् ।

जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ ।

समयमा बीउ, मल र जनशक्ति नपाउँदा गाह्रो भएको बर्दिवास नगरपालिका–१२ बिजलपुराका विश्वनाथ सिंह बताउँछन् । कूल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त मानिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस