स्थानीयलाई रसुवागढी हाइड्रोपावरको आइपीओ खुला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्थानीयलाई रसुवागढी हाइड्रोपावरको आइपीओ खुला


१३ असार २०७९, सोमबार


काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२ हजार १०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो ।

आयोजनाले प्रभावित रसुवा जिल्लावासीका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६८ लाख ४२ हजार १०० कित्ता शेयर आयोजनाबाट अति प्रभावित गोसाईंकुण्ड गाउँपालिका–१ र २, प्रभावित आमाछोदिङ्मो गाउँपालिका–४ र ५ तथा गोसाईंकुण्ड गाउँपालिकाका ३, ४, ५ र ६ का साथै सामान्य प्रभावित उल्लेखित क्षेत्रभन्दा बाहिर बसोबास गर्ने जिल्लावासीमा ४।५ः १।५ः १ का दरले शेयर बाँडफाँड गरिने आह्वानपत्रमा उल्लेख छ ।

जिल्लाका स्थानीय बासिन्दाले आजदेखि असार २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका हुँदै बहने भोटेकोसी नदीमा १११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस