जीतपुर सिमराका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध सवा करोडको भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जीतपुर सिमराका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध सवा करोडको भ्रष्टाचार मुद्दा


१० असार २०७९, शुक्रबार


काठमाडौँ । ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत नलिई सम्झौता गर्ने जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्री गर्ने ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत नलिई सम्झौता गर्ने प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईबिरुद्ध आयोगले एक करोड २० लाख २८ हजार ९० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईंले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्री गर्ने गरी न्यु पाथीभरा सप्लायर्स, हेटौँडा–४, मकवानपुरसँग सम्झौता गर्दाको बखत दुई किस्ताबापत हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्नेमा सो नलिई सम्झौता गरेको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको अङ्कमध्ये हालसम्म दाखिला गर्न बाँकी एक करोड २० लाख २८ हजार ९० रुपैयाँ नगरपालिकाको राजस्व रकम चुहावट हुन गएको भन्दै आयोगले सेढाईलाई बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

साथै न्यु पाथीभरा सप्लायर्सले कबोल गरेको अङ्कमा बाँकी दाखिला नगरेको रकम एक करोड २० लाख २८ हजार ९० रुपैयाँ र ठेक्का कबोल अङ्कको हुन आउने मूल्य अभिवृद्धि कर रकम ४६ लाख ४४ हजार पाँच सय १० दाखिला गरेको नदेखिएकोले सो रकमसमेत गरी १ करोड ६६ लाख ७२ हजार छ सय दाबीसहित न्यू पाथिभरा सप्लायर्स र त्यसका प्रोप्राइटर मिराकुमारी श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस