एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : आज बहराइनसँग भिड्दै नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : आज बहराइनसँग भिड्दै नेपाल


६ असार २०७९, सोमबार


काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज सोमबार बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

किनरारा ओभलमा नेपालले तेस्रो खेल बहराइनको सामना गर्न लागेको हो । नेपाल र बहराइनबीचको खेल बिहान ८:१५ बजे सुरु हुनेछ ।

बहराइनविरुद्ध मैदान उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । यस्तै नेपाल सेमिफाइनल पुग्न चाहन्छ ।

बहराइन नेपालको लागि नौलो प्रतिद्वन्द्वी हो । यस अघि नेपालले बहराइनसँग खेलेको छैन । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले २ खेलमा ४ अङ्क जोडेको छ ।

बहराइनलाई हराएमा नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ । बहराइन २ खेलमा १ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

यस अघि नेपालले भुटानलाई ५० रनले हराएको थियो । त्यस्तै कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको थियो ।

नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस