एन्फाको चार वर्षे नयाँ नेतृत्वका लागि आज मतदान, कसले मार्ला बाजी ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एन्फाको चार वर्षे नयाँ नेतृत्वका लागि आज मतदान, कसले मार्ला बाजी ?


६ असार २०७९, सोमबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी चार वर्षे नेतृत्वका लागि आज केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ।

काठमाडौँको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ। उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्यानलसहित चुनावी मैदानमा छन्। यस्तै फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल पनि अध्यक्षको आकाङ्क्षी छन्। पौडेलले भने प्यानल बनाएका छैनन्।

एक वरिष्ठ उपाध्यक्ष र चार जना उपाध्यक्षका लागि शेर्पा र नेम्बाङ प्यानलबाट छुट्टाछुट्टै उम्मेदवारी परेको छ।

वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुली र नेम्बाङ प्यानलबाट वीरबहादुर खड्का प्रतिस्पर्धा गर्दैछन्।

यस्तै उपाध्यक्षमा शेर्पा पक्षबाट उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा उम्मेदवार छन्।

नेम्बाङ पक्षबाट विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडा उपाध्यक्षको उम्मेदवार छन्।

२१ सदस्यीय कार्यसमितिमा १५ जना सदस्य हुनेछन्। १५ सदस्य मध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलेबाट उम्मेदवार छन्।

निर्वाचनमा ७ प्रदेशमध्ये प्रदेश १ एकका सबैले नेम्बाङलाई भोट दिने सार्वजनिक रूपमै घोषणा गरेका थिए। यस्तै सी डिभिजन क्लबका मताधिकार पाएका व्यक्ति पनि नेम्बाङ पक्षका खुलेका छन्। सी डिभिजनको ९ मध्ये ७ भोट नेम्बाङ पक्षलाई जाने सी डिभिजनका एक प्रतिनिधिले दाबी गरेका छन्।

बाँकी प्रदेशमा भने दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा रहेको बताइएको छ। यस्तै ए र बी डिभिजन लिगमा पनि दुई पक्षको अन्तर खासै देखिदैन।

यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन्। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दै छन्।

भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट वञ्चित भएका थिए। यस्तै एन्फाको विधानविपरित मताधिकार दिइएको बन्दै दाबीविरोध परेपछि सिराहा जिल्लाको मताधिकार बदर भएको थियो।

निर्वाचनमा १४ वटा ए डिभिजन क्लब, ११ वटा बी डिभिजन क्लब र ९ वटा सी डिभिजन क्लबले मत खसाल्नेछन्। यसैगरी राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ वटा क्लबले मत दिनेछन्। एन्फाअन्तर्गतको महिला सङ्घ, खेलाडी सङ्घ, प्रशिक्षक सङ्घ र रेफ्री सङ्घले पनि मत दिनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस