गठबन्धन बैठक : एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गठबन्धन बैठक : एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी


५ असार २०७९, आइतबार


काठमाडौँ । विवादित बनेको अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताबीच आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए ।

नेताहरुको सुझावमा प्रधान देउवा सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । ‘स्टेट पार्टनरसिप प्रोग्रामबारे अहिले अन्योल छ । यसको वास्तविकता के हो भन्नेमा सर्वदलीय बैठक बोलाएर छलफल गरौँ र यथार्थ जनतामाझ ल्याऊ भनेर प्रधानमन्त्रीजीलाई भनेका छौ’, अध्यक्ष नेपालले भने, ‘उहाँले हुन्छ भन्नुभएको छ ।’

नेताहरुकाअनुसार एक दुई दिनभित्रै सर्वदलीय बैठक बोलाएर एसपीपीबारे छलफल गरेर वास्तविकता बाहिर ल्याइने छ । समाजवादीका अध्यक्ष नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीकै नेता झलनाथ खनाल लगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता आइतबार प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।

आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा एसपीपीको अलावा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे समेत नेताहरुबीच सामान्य कुराकानी भएको छ । त्यस्तै नेकपा समाजवादीका मन्त्री परिवर्तनबारे समेत कुराकानी भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस