भुटानी शरणार्थीका नेता भम्पा राईको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भुटानी शरणार्थीका नेता भम्पा राईको निधन


५ असार २०७९, आइतबार


काठमाडौँ । तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा. भम्पा राईको निधन भएको छ । झापाको दमकमा बस्दै आएका ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

राई पेट सम्बन्धी समस्याबाट पीडित थिए । पाँच दिन अघि उनको हर्नियाको शल्यक्रिया पनि भएको थियो । शनिबार दिउँसो मुटुको चालमा गडबडी भएपछि सुरुमा दमकस्थित लाइफलाइन अस्पतालमा त्यसपछि विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको थियो । राईको आइतबार किरात संस्कारअनुसार दमकमा अन्त्येष्टि गर्ने तयारी छ ।

राई भुटानी राजाका निजी डाक्टर थिए । सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उनी आफ्नै इच्छाले नेपाल आएका थिए । राई श्रीमती, र बुवा–आमालाई सहित नेपाल आएका थिए । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो । दुई वर्षअघि उनकी श्रीमती उर्मिलाको पनि निधन भएपछि भम्पा डेरामा एक्लै बस्दै आएका थिए ।

राईलाई गत जेठ १३ देखि दमक नगरपालिकाले दमक-५ मा निःशुल्क बस्ने व्यवस्था गरिदिएको थियो । राईका छोरा-छोरी छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस